fbpx

सामाजिक सञ्जाल चलाउनलाई मात्र अनुपले राखेका छन् म्यानेजर

विराटनगर, ३० भदौ । सामाजिक सञ्जालमा निकै एक्टिभ रहने अभिनेता अनुपविक्रम शाहीले फेसबुक, ट्वीटर, इन्स्टाग्राम र इमेल चलाउनका लागि म्यानेजर राखेका छन् भन्ने खबर सार्वजनिक भएको छ । अनुप स्वयंले यस कुराको खुलासा गरेका हुन् ।

बिहीबार राजधानीमा फिल्म ‘पासवर्ड’ को प्रिमियरमा बलिउड अभिनेत्री सन्नी लियोन उपस्थिति हुनुभन्दा केही समयअगाडि उद्घोषिकाले फिल्मका कलाकारसँग केही समय रमाइलो कुराकानी गर्ने क्रममा सो कुरा बाहिरिएको हो । प्रिमियरका लागि भनि सजाइएको स्टेजमा फिल्मका कलाकारहरू अनुपविक्रम शाही, विक्रम जोशी विक्की, परि राना, रवीन्द्र झा र निर्देशक सम्राट बस्नेत थिए ।

उद्घोषिकाले कलाकार र निर्देशकलाई फिल्मको थिमअनुसार आफ्नो फेसबुक र इमेलको पासवर्ड खुलाउन आग्रह गरेकी थिइन् । आफ्नो पासवर्ड गोप्य नै राख्नुपर्ने बताउँदै स्टेजमा उपस्तिथ रहेका कलाकारहरूले आफूले चलाउने सामाजिक सञ्जालको पासवर्ड सार्वजनिक गर्न चाहेनन् ।

तर, तिमध्ये अनुपको जवाफ अनौँठो थियो । उनले फेसबुक, इमेल, इन्स्टाग्राम र ट्वीटर आफूले नचलाउने समय नहुने भएका कारणले विभिन्न सामाजिक सञ्जाल चलाउनका लागि मात्र अलगै म्यानेजर राखेको बताएका छन् । उनको यो खुलासाले प्रिमियरमा उपस्थित रहेका धेरैलाई पत्यार लागेन । तर, उनले यो कुरा सत्य रहेको बताएका छन् । सीमित कलाकारले कामको सहजताका लागि पर्सनल म्यानेजर राखेका भए पनि कामबाट फुर्सद भएको बेलामा आफैँ सामाजिक सञ्जाल चलाउने गरेका छन् । नेपालमा कुनै सेलिब्रेटीले सामाजिक सञ्जाल चलाउनकै लागि म्यानेजर भने राखेका छैनन् ।

अनुपले भिलेनको भूमिका गर्ने कलाकार पनि हिरोभन्दा पनि ह्यान्डसम हुन सक्ने भन्दै भिलेनको परिभाषालाई परिवर्तन गर्दै आएका छन् । अहिले नेपाली फिल्ममा ह्यान्डसम हिरोभन्दा ह्यान्डसम भिलेनको प्रवेश बढ्दो देखिन्छ । अनुपले हिरो तथा भिलेन दुवैको भूमिका निभाउने गरेका छन् । उनलाई धेरैले हिरोको भूमिकामा भन्दा पनि भिलेनको भूमिकामा रुचाउने गरेको देखिन्छ । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘पासवर्ड’ मा पनि उनी खतरनाक भिलेनको भूमिकामा देखिएका छन् ।

उनले हिरोको भूमिका निभाएको फिल्म खासै सफल हुन सकेको छैन । तर, भिलेनको भूमिकामा भने उनको कामको निकै प्रशंसा हुने गरेको छ । भिलेनको भूमिका निभाएको फिल्म ‘कृ’ मा अनुपले अभिनेता अनमोल केसीमाथि भारी परेका थिए । पर्दामा भिलेनको भूमिकामा राम्रो तारिफ बटुल्ने उनको हिरोको रोलमा भन्दा पनि नेगेटिभ रोलमा लोभलाग्दो डिमान्ड छ । अनुप पनि यसको फाइदा उठाउदै एक फिल्मको ७ देखि ८ लाखसम्मको पारिश्रमिक लिने गर्छन् ।

Loading...