fbpx

प्रदेश १ मा सरकारी जमिन खोजी गर्न उच्चस्तरीय समिति

विराटनगर, ३० भदौ । प्रदेश १ सरकारले प्रदेशभित्रका सरकारी तथा सार्वजनिक जग्गाको विवरण तयार पार्न उच्चस्तरीय समिति गठन गरेको छ । आइतबार बसेको प्रदेश १ सरकारको मन्त्रीपरिषद बैठकले प्रदेशभरिका सरकारी जग्गाहरू खोजेर लगत तयार गर्नका लागि प्रमुख प्रदेश सचिवको नेतृत्त्वमा उच्चस्तरीय समिति गठन गरेको हो ।

प्रमुख सचिव सुरेश अधिकारीको नेतृत्त्वमा गठन भएको पाँच सदस्यीय समितिमा आन्तरिक मामिला तथा कानून मन्त्रालयको सचिव सदस्य, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानून सचिव सदस्य, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सचिव सदस्य र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सचिव सदस्य सचिवको रुपमा रहनेछन् । उक्त समितिले प्रदेशमा हराएका, लुकेका, मिचिएका सरकारी जमिनको खोजी गरेर प्रतिवेदन प्रदेश सरकारलाई बुझाउने छ ।

सुन्दरहरैँचा नपाको केन्द्र परिर्वन गर्न सिफारिस

यसैगरी आइतबार बसेको मन्त्रीपरिषद बैठकले मोरङको सुन्दरहरैचा नगरपालिकाको केन्द्र परिवर्तन गर्न निर्णय गरेको छ । प्रदेश सरकारले स्थानीय तहको निर्णयसहित संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो । सुन्दरहरैँचा नपाको केन्द्र हाल पूर्वपश्चिम राजमार्गअन्र्तगतको विराटचौकमा रहेको छ । नपाको बोर्डले नै सुन्दरहरैँचाको केन्द्र सलकपुरमा सार्ने निर्णय गरेपछि प्रदेश सरकारले सोही निर्णयका आधारमा संघीय सरकारलाई सिफारिस गरेको हो ।

यसैगरी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्र्तगतका प्राइभेट फर्महरू पुस मसान्तसम्म नवीकरण गरिसक्नका लागि पनि प्रदेश सरकारले निर्णय गरेको छ । आइतबारको मन्त्री परिषदको बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालयअन्र्तगत सेवा करारमा इन्जिनियर तथा सवइन्जिनियर छनौट गर्नका लागि प्रारम्भिक लिखित परीक्षा समावेश गर्ने निर्णय पनि गरेको छ ।

Loading...