fbpx

क्रिकेट रंगशाला निर्माण गर्न ‘कबड्डी ३’ टिमको तीन लाख सहयोग

विराटनगर, ३० भदौ । असोज ३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ टिमले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणको लागि तीन लाख रुपैयाँ सहयोग गरेको छ । ‘धुर्मुस–सुन्तली फाउन्डेसन’ ले भरतपुरको चितवनमा निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’को निर्माणका लागि फिल्मको निर्माण टिमले आर्थिक सहयोग गरेको हो ।

आइतबार फिल्मका मुख्य अभिनेता दयाहाङ राई र विल्सन विक्रम राईले सिताराम कट्टेललाई तिन लाखको चेक हस्तान्तरण गरेका हुन् । चेक हस्तान्तरण गरिसकेपछि धुर्मुस–सुन्तली फाउन्डेसन’ का अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ ले क्रिकेट रंगशाला निर्माणमा फिल्मकर्मीबाट मिलेको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै राष्ट्रिय गौरवको यस अभियानमा सबैलाई साथ र सहयोग गर्न आह्वान गरेका छन् ।

दयाहाङले क्रिकेट रंगशाला निर्माणका लागि सानो भए पनि फिल्मको तर्फबाट सहयोग गर्न पाउँदा खुसी महसूस भएको बताउँदै सबै नेपालीलाई आ–आफ्नो क्षमता र अवस्थाअनुसार सहयोग गर्न आग्रह गरेका छन् । त्यस्तै, विल्सनले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सहयोग गर्नु सबै नेपालीको दायित्व रहेको थपे ।

अहिले क्रिकेट रंगशालाको निर्माण कार्य धमाधम भइरहेको र सो रंगशालालाई दुई वर्ष भित्रमा भरतपुर महानगरपालिकालाई हस्तान्तरण गर्ने तीब्र तयारी रहेको छ । फिल्म प्रदर्शनका लागि ४ दिन मात्र रहेको कारणले अहिले ‘कबड्डी कबड्डी कबड्डी’ टिम फिल्मको प्रचार–प्रचारमा निकै व्यस्त रहेको छ ।

स्वजातिय विवाह र अन्तर्जातीय प्रेम सम्बन्धको अन्तद्र्वन्द्वको कथामा आधारित रहेको फिल्ममा दयाहाङ र विल्सनका साथै उपासना सिंह ठकुरी, रिश्मा गुरुङ, कर्मा शाक्य, माओत्से गुरुङ, पुस्कर गुरुङ, विजय बराल, बुद्धि तामाङ, कमलमणी नेपाल, अरुणा कार्की, पुस्कर गुरुङ, कविता आले, लुनिभा तुलाधरलगायतका कलाकारहरूको अभिनय रहेको छ ।

फिल्मको कथा निर्देशक रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन् । बासुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको फिल्मलाई निमेश श्रेष्ठले सम्पादन गरेका छन् ।

Loading...