fbpx

स्मरण शक्ति बढाउन ओखर अचूक उपाय, यस्ता छन् ओखरका अपत्यारिला फाइदाहरू

विराटनगर, ३० भदौ । ओखर एक ड्राइ फ्रुट्समा पर्ने वनस्पति हो । बाहिर निकै कडा हुने यसको भित्री भागमा खानयोग्य पोषिलो फल सुुरक्षित तरिकाले रहेको हुन्छ । ओखरमा बढी मात्रामा तेल पाइन्छ । ओखरमा भिटामिन ‘बी’, ‘सी’, ‘ई’, म्याग्नेसियम, जिंक, कपर, आइरन, क्याल्सियम अनि पर्याप्त एन्टिअक्सिडेन्ट र प्राकृतिक मिनरलहरु पाइन्छ ।

यी सबैको सन्तुलित मात्रा एउटै फल ओखरमा पाइन्छ । ओखर एक मात्र यस्तो फल हो, जसमा ओमेगा ३, ओमेगा ६ र अल्फा लिनोलेनिक एसिड हुन्छ जसले शरीरमा हुने स्वासको समस्या, दम, अर्थराइटिस, एक्जिमा र सोरासिस रोगबाट बचाउने गर्छ । विशेषगरी जाडोमा ओखरको सेवनले स्वास्थ्यमा सुधार आउनुको साथै रोगप्रतिरोधक क्षमतामा वृद्धि गराउने हुन्छ ।

ओखरमा पाइने भिटामिन ‘सी’ ले शरीरमा ग्लुटाथियोनको उत्पादन गर्छ । जसले मिर्गौलामा रहेको विषयुक्त पदार्थलाई पिसाबको माध्यमले निष्काशित गर्दछ । ओखर खानाले पाचन प्रक्रिया राम्रो हुन्छ र कब्जियत तथा पेटसम्बन्धी हुने विभिन्न समस्याबाट छुटकारा पाइन्छ । ओखरको सेवनले मानसिक समस्या कम गरेर तनावबाट मुक्ति दिलाउनुका साथै मस्तिष्कलाई स्वस्थ बनाइ स्मरण शक्तिको वृद्धि गर्नमा मद्दत गर्छ ।

ओखर शरीरको सौन्दर्यका लागि निकै लाभदायक मानिन्छ । यसमा पाइने विभिन्न पोषक तत्वले कपाल तथा छालासम्बन्धी समस्याबाट मुक्ति दिलाउन मद्दत गर्छ । यसको सेवनले छालालाई सुन्दर र स्वस्थ राखेर बढ्दो उमेरमा हुने चाउरीपनाबाट छुटकारा दिलाउछ । ओखरमा प्रशस्त मात्रामा क्याल्सियम हुन्छ जसले हाम्रो हड्डीलाई बलियो बनाउने गर्दछ । यसले महिलामा स्तन क्यान्सरको सम्भावनालाई कम गर्छ । ओखर सेवनले पुरुषको शुक्रकीट बढाउनमा समेत महत्त्वपूर्ण भूमिका खेल्दछ ।

ओखर सेवनले शरीरमा खराब कोलेस्ट्रोलको मात्रा कम गराएर रक्तसञ्चार सहज हुन गई मुटुमा बढी दबाब हुन दिँदैन । ओखरमा रहेको बोसो र पौष्टिक तत्वले शरीरमा इन्सुलिनको मात्रा सन्तुलित राख्नमा सहायक भूमिका खेल्छ । ओखर खानाले उक्त रक्तचाप, मधुमेह, मुटु रोग, क्यान्सरलगायत अन्य रोगको जोखिमलाई कम गराउँछ ।

ओखरमा बढी मात्रामा फाइबर पाइने हुँदा यसको सेवनले मानिसमा बढी भोक लाग्ने प्रक्रियालाई नियन्त्रण गर्छ । ओखरको नियमित सेवनले निद्रा नलाग्ने समस्यामा पनि सुधार आउँछ । खोकीले सताउँदा ओखर भुटेर खाने गरे आराम पाइने र यसको तेलले मालिस गर्दा घुँडा दुखेकोसमेत निको हुन्छ ।

Loading...