fbpx

धेरै निन्द्रा लागे निम्तिन्छ स्वास्थ्यमा अनेकौं समस्या

विराटनगर, ३० भदौ । शरीरमा सधैँ थकान महसूस भइ रहने, सुतिरहन मन गर्ने, आँखा नै खोल्न नसक्ने गरि निन्द्रा लागिरहने, घरमा मात्र नभएर बाहिर जाँदा, कार्यालयमा काम गर्दै गर्दा छिट्टै थाक्ने, आलस्य हुने, तथा घर कहिले जाने र सुत्न पाए जस्तो महसूस हुन सक्छ ।

घरमा बिनाकाम अथवा स्कूल, कार्यालयमा काम गर्दै गर्दा आलस्य हुने, काममा ध्यान नलाग्ने, हाई आउने, झप–झप हुँदा निद्रा लागिरहने समस्याले सताउने गर्छ  । धेरै समयदेखि काममा ब्यस्त रहेर निन्द्रा नपुगेको खण्डमा धेरै निन्द्रा लाग्छ । राति अत्यन्त निद्रा आएपनि बिहान उठ्न गाह्रो हुन्छ, चिकित्सक भाषामा यसलाई हाइपरसोम्निया भएको भनिन्छ ।

शरीरमा पानी र अक्सिजनको मात्रामा कमी भएमा पनि निन्द्रा धेरै लाग्ने समस्या देखा पर्न सक्छ । तर, रातभरि पर्याप्त ७ देखि ८ घण्टा सुते पनि निन्द्रा लागिरहने समस्याको एउटा मुख्य कारण भनेको एनिमिया हो । एनिमिया भनेको रक्त अल्पताको समस्या हो, जुन शरीर तथा रगतमा आइरनको कमीबाट हुन्छ । मानव शरीरमा रातो रक्तकोषको कमी भएमा एनिमिया हुने गर्छ ।

स्वास लिने क्रममा रातो रक्तकोषले फोक्सोबाट शरीरभरि अक्सिजन पुर्याउने काम गर्छ । आइरनका साथै भिटामिनको कमीको कारण पनि एनिमिया हुन जान्छ  । रक्तकोषको कमीले स्वास्थ्यमा समस्याहरू उत्पन्न गराएर मानिसको दिमागलाई कमजोर बनाएर अत्यधिक निद्रा लाग्न सक्छ । शरीरमा पानीको कमी हुँदा छटपटी, थकान, निद्रा लगायतको समस्या हुने गर्छ । उदासीनताको सिकार, डिप्रेसन तथा तनावका कारण पनि मानिसले आफूलाई निकै कमजोर महसूस गरिरहेको हुन्छ ।

त्यसैले पनि डिप्रेसनको सिकार भएका मानिस बढी निदाउने गर्छन् । यस्तो निदाउने समस्यालाई नजरअन्दाज गर्नुहुँदैन । क्याफिनको सेवन बढी भयो भने पनि धेरै निन्द्रा लाग्ने समस्या देख्न सकिन्छ । निद्रामा यस्तो समस्या देखा परेमा डायबिटिज हुने, डिप्रेशनको शिकार हुने, मोटोपना बढ्ने समस्याहरू देखिन सक्छन् । चिकित्सकहरूका अनुसार समस्याबाट मुक्त हुनको लागि पौष्टिक खाना खाने, दैनिक चार लिटर पानीको प्रयोग, दैनिक बिहान ब्यायाम गर्ने, क्याफिन हुने कफीलगायतका पेय पदार्थ कम पिउने सल्लाह दिने गर्छन् ।

Loading...