fbpx

शून्य लागतमा मलेसिया रोजगारी, सामाजिक सुरक्षाकाे पनि सुनिश्चितता

काठमाडौं, २९ भदौं । लामो सयमदेखि रोकिएको मलेसिया रोजगारी खुलेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाल र मलेसिया सरकारबीच भएको श्रम समझदारी (एमओयू) को भावनाअनुरुप मलेसिया रोजगारी नियमित भएको बताएको छ ।

मन्त्रालयले वक्तव्य जारी गर्दै दुवै देशबीच सम्पन्न समझदारीको अक्षर र भावनाको पूर्ण कार्यान्वयन हुने गरी मलेसिया रोजगारी सञ्चालन गरिएको जनाएको छ ।

समझदारीपश्चात् बाँकी रहेका प्राविधिक विषय टुङ्गो लगाउन यही भदौ २४ र २५ गते मलेसियाको पुत्रजयामा दुवै देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्य समूहको बैठक बसेको थियो ।

सोही बैठकले नै समझदारी भएको लामो समयसम्म नियमित हुन नसकेको मलेसिया रोजगारीको सम्बन्धमा ‘ब्रेकथ्रु’ गरेको थियो । बैठकमा श्रम समझदारी कार्यान्वयनका सन्दर्भमा टुङ्गो लाग्न बाँकी विषयमा छलफल गरी समझदारी कार्यान्वयनलाई औपचारिकरुपमा अगाडि बढाउन सहमति भएको मन्त्रालयले जनाएको छ ।

समझदारीपश्चात् काठमाडौँमा बसेको पहिलो संयुक्त कार्यसमूहको बैठकले समझदारीको कार्यान्वयन गर्ने सन्दर्भमा दुवै देशका तर्फबाट गरिनुपर्ने कार्यका साथै भर्ना प्रक्रिया चरण निर्धारण गरेको थियो । सो बैठकमा मलेसिया सरकारबाट स्वास्थ्य परीक्षणको मापदण्ड उपलब्ध हुने र सोका आधारमा नेपाल सरकारले मलेसिया सरकारसँगको परामर्शमा स्वाथ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाको छनोट गर्ने गरी निर्णय गरेको थियो ।

सोही सहमतिका आधारमा मलेसिया सरकारले रोजगारीका लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाको मापदण्ड पठाएको थियो । मलेसिया सरकारबाट प्राप्त मापदण्डका आधारमा मन्त्रालयले गत चैत १८ गते सार्वजनिक सूचना जारी गर्दै मापदण्ड पूरा गर्न सक्ने स्वास्थ्य संस्थालाई सूचीकरणका लागि आह्वान गरेको थियो ।

स्वास्थ्य मन्त्रालयका विशेषज्ञसमेत सम्मिलित टोलीले सूचीकरणका लािग निवदेन दिएका स्वास्थ्य संस्थाको स्थलगत अनुगमन एवं निरीक्षण गरी १२२ स्वास्थ्य संस्थाको नामावली गत साउन २१ गते मलेसिया सरकारलाई पठाएको थियो ।

एक सय २२ स्वास्थ्य परीक्षणमध्ये ३६ संस्था यसअघि नै मलेसियाली स्वास्थ्य परीक्षणको मापदण्ड पूरा गरी मलेसियाको बायो–मेडिकल सिष्टममा आबद्ध भइसकेका छन् । यस्तै सुरक्षा गार्डको भर्ना प्रक्रिया पनि शून्य लागतको सिद्धान्तका आधारमा गर्ने सहमति भएको छ । सुरक्षा गार्डको अन्य सेवा शर्तका विषयसमेत श्रम समझदारीबमोजिम हुनेछ ।

शून्य लागत, सामाजिक सुरक्षा सुनिश्चितता

सहमतिअनुसार मलेसिया कामदार पठाउँदा लाग्ने सेवा शुल्क, आतेजाते हवाइ टिकट, भिसा शुल्क, स्वास्थ्य परीक्षण शुल्क, सुरक्षा जाँच शुल्कलगायत खर्चबापत कामदारले कुनै पनि शुल्क तिर्नुपर्ने छैन । कामदार भर्नाका सम्बन्धमा लाग्ने सम्पूर्ण लागत सम्बन्धित रोजगारदाताले नै व्यहोर्नु पर्नेछ । विगतमा नेपाली कामदारलाई लाग्दै आएको लेबी समझदारीपश्चात् नलाग्ने भएको छ ।

करार अवधि तीन वर्ष रहँदै आएकामा दुई वर्ष कायम भएको छ । कामदारको पारिश्रमिक प्रत्येक महीनाको ७ गतेभित्र बैंक खातामार्फत भुक्तानी गर्नुपर्ने र मलेसिया सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम नहुने गरी तलबभत्ता एवं सुविधा पाउने सुनिश्चित भएको छ ।

अतिरिक्त समयमा काम गरेबापत थप पारिश्रमिक एवं सेवा सुविधा प्राप्त हुनेछ ।

समझदारी पत्रअनुसार रोजगारदाताले कामदारका लागि उचित कार्य वातावरण र बासस्थानका साथै व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षाकोसमेत प्रबन्ध गर्नुपर्नेछ । नेपाली कामदार मलेसियाको विमानस्थलमा पुगेको छ घण्टाभित्र गन्तव्यस्थलमा लैजानुपर्नेछ । यदि तोकिएको समयभित्र रोजगारदाताले कार्यस्थलमा लैजान नसकेमा श्रमिकले गर्नुपरेको खर्च रोजगारदाताले नै बहन गर्नुपर्ने व्यवस्था गरिएको छ । रासस

Loading...