fbpx

सिडिओहरू संघीय सरकारका प्रतिनिधि मात्र हुनुहुँदैन : मुख्यमन्त्री राई

विराटनगर, २९ भदौ । प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले जिल्लाका सिडिओहरूले आफूलाई संघीय सरकारको प्रतिनिधि मात्र ठान्यो भने सुरक्षा अवस्था भरपर्दो नहुने र सुशासन पनि कायम हुन नक्सने बताएका छन् ।

संघीय सरकारको गृह र प्रेदश १ सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले विराटनगरमा आयोजना गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई आइतबार सम्बोधन गर्दै मुख्यमन्त्री राईले सबै जिल्लाका सिडिओहरूले साघुँरो सोचलाई नत्यागेमा सुरक्षा व्यवस्था भरपर्दो नहुने र सुशसान पनि कायम हुन सक्दैन भनेका हुन् ।

मुख्यमन्त्री राईले प्रदेश सरकारसँग सहकार्य गरेर अगाडि बढ्न प्रदेशअन्तर्गत रहेका जिल्लाका सबै सिडिओहरूसँग आग्रह गरे । उनले प्रदेश १ मा जिल्ला प्रशासन र सबै सुरक्षा निकायसँग सहकार्यको अवस्था सुरुदेखि राम्रो भएकोले अझै राम्रो बनाएर जनअपेक्षाअनुसार सुरक्षा प्रदान गरेर जिम्मेवारी निभाउनुपर्नेमा जोड दिए । उनले संघ प्रदेश र स्थानीय तहको सहकार्य राम्रो भएमात्र समाजका सबैखाले अपराध नियन्त्रण हुने र शान्ति सुरक्षा भरपर्दो भएर जाने प्रष्ट पारे ।

उनले संघमा प्रहरी ऐन बनिसकेकोले अब चाँडै प्रदेशमा पनि प्रहरी ऐन लागू हुने जानकारी गराए । मुख्यमन्त्री राईले भने, ‘प्रदेश १ मा सहकार्य र सुरक्षाको अवस्था सन्तोषजनक नै छ तर यति मात्र पुग्दैन अझै सुधार गरेर जानुपर्छ ।’

भ्रष्टचारमा कठोर हुन सबै सुरक्षा निकायलाई निर्देशन

मुख्यमन्त्री शेरधन राईले भ्रष्टचार अन्त गरेर सुशासन कायम गराउनका लागि कठोर बन्न प्रदेशमा रहेका सबै सुरक्षा निकायलाई निर्देशन गरेका छन् । भ्रष्टचारको अन्त्यबिना सुशासन हुन नसक्ने भएकोले सरकारको नीतिअनुसार कठोर बन्न सुरक्षा निकायका सबै अंगहरूलाई निर्देशन गरेका हुन् ।

उनले भ्रष्टचार र कूशासन कायम रहेसम्म जनताले शान्ति सुरक्षाको अनुभूति भरपर्दो ढंगले गर्न नपाउने भन्दै योजना र सेवामा हुने कमिसन तथा भ्रष्टचार अन्त्य गराउन प्रदेश सरकारले शून्य सहनशीलताको नीति लिएकोले त्यसलाई कठोरतासाथ पालना गर्न सुरक्षा निकायलाई निर्देशन गरे । उनले भने, ‘एक नम्बर प्रदेशलाई नमुना बनाउन सुशासन कायम गराउनैपर्छ यसैले सबैले कठोर बन्न आवश्यक छ ।’

मुख्यमन्त्री राईले भ्रष्टचारको सूचना पाएमा सरकारले एक घण्टाभित्र कार्बाही गरेर देखाउने प्रतिवद्धता गरेको जानकारी गराउँदै गलत गर्नेहरू कसैले पनि उन्मुक्ति पाउन सक्दैनन् भने ।

भरपर्दो सुरक्षामा अझै चुनौति

प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सुरक्षा निकायलाई बलियो बनाउन प्रदेश सरकारले सुरुदेखि नै सहकार्य र सहयोग कायम राखेको बताए । उनले प्रदेश सरकारले निरन्तर सुरक्षा निकायलाई विभिन्न सवारी साधन, भवन र अन्य कार्यक्रमका लागि बजेट प्रदान गरिरहेको जानकारी दिए । सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले अझै प्रदेशमा लागूऔषधको बेचबिखन र प्रयोग, मानव ओसारसार लुटपाट, चन्दा आतङ्क, महामारी र विपदका घटनाहरू सुरक्षा चुनौतिका रूपमा रहेकोले न्यूनिकरण गर्न ठोस कायाोजना कार्यान्वयन गनुपर्नेमा जोड दिए ।

सुरक्षा भरपर्दो भएमात्र सुशासन

प्रदेश १ का प्रमुख सचिव सुरेश अधिकारीले सुरक्षा व्यवस्था भरपर्दो भएमात्र विकासको वातारण बन्ने भएकोले कुनै पनि कसर बाँकी नराखी काम गर्नुपर्नेमा जोड दिए । प्रदेश १ अन्तर्गत १४ जिल्लाकै सिडिओ, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रमुख र विभागीय प्रदेश प्रमुखहरू सहभागी भएको सुरक्षा भेलामा प्रमुख सचिव अधिकारीले भने, ‘शान्ति र स्वायित्व नै सुशासनको मूल आधार भएकोले सुरक्षाप्रति सबैले संवेदनशील र जिम्मेवार हुनैपर्छ ।’

Loading...