fbpx

‘रातो टीका निधारमा टलक्क टल्कियो’ (भिडियोसहित)

विराटनगर, २९ भदौ । असोज १० गतेबाट प्रदर्शनमा आउने फिल्म ‘रातो टीका निधारमा’को शीर्ष गीत सार्वजनिक भएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा गीतलाई सार्वजनिक गरिएको हो ।

फिल्ममा झण्डै २ दशक अगाडि अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धर अभिनित फिल्म ‘अल्लारे’ मा समावेश भएको चर्चित गीत ‘रातो टीका निधारमा’लाई रि–एरेञ्ज गरिएर फिल्मको शीर्ष गीत बनाइएको हो । सार्वजनिक गरिएको गीतले दशैं नजिकिएको आभास गराएको छ । गीतको रिमेक भर्सनमा गायक प्रमोद खरेल र गायिका मेलिना राईको स्वर रहेको छ ।

गीतको ओर्जिनल भर्सनमा भने उमेश पाण्डे र रमना श्रेष्ठको स्वर छ । पुरानो गीतमा संगीत भरेका शम्भुजीत बाँस्कोटाले नै गीतलाई रि–एरेञ्ज गरेका हुन् । गीतलाई वास्तविक सर्जक शहदेव ढुंगानाले लेखेका हुन् । बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको गीतमा फिल्मका मुख्य अभिनेत्री साम्राज्ञी आरएल शाह र नवअभिनेता अंकित शर्माले नृत्य प्रस्तुति गरेका छन् ।

गीतको भिडियोमा यी दुईसंगै रवीन्द्र झा, नीता ढुंगाना, खुस्बु खड्का, बुद्धि तामाङ, बसुन्धरा भुषाल, शिवहरि पौडेल, अरुणा कार्कीलगायतका कलाकार पनि अटाएका छन् । फिल्मलाई अंकितका बुवा अशोक शर्माले निर्देशन गरेका हुन् भने निर्देशक शर्माकी श्रीमती किरण शर्मा र छोरी कृति शर्माले फिल्मको निर्माण गरेका हुन् । कृति फिल्मकी सहनिदेशक पनि रहेकी छन् ।

फिल्ममा साम्राज्ञी र अंकितका साथै नीता ढुङ्गाना, खुस्बु खड्का, रवीन्द्र झा, बुद्धि तामाङ, बसुन्धरा भुषाल, शिवहरि पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजराम पौडेल, कमला रेग्मीलगायतका कलाकारहरूको अभिनय रहेको छ । पुरुषोत्तम प्रधानले छायांकन गरेको फिल्मलाई मित्र देव गुरुङले सम्पादन गरेका छन् ।

फिल्मका लागि सहदेव ढुंगाना, डा.कृष्णहरि बराल र रवी मल्लले गीत लेखेका छन् । वैदेशिक रोजगारीको कथालाई रोचक तरिकाले उठान गरेको फिल्मलाई उत्कृष्ट बनाउन कुनै पनि कसर नछाडेको निर्देशक अशोकले बताएका छन् ।

Loading...