fbpx

पत्रपत्रिकामा प्रदेश : जनसंख्य भन्दा धेरै जमिनका टुक्रा

विराटनगर २९ भदौ । उद्घोष दैनिक तथा जनविद्रोह दैनिकले यो समाचारलाई आज मुख्य समाचार बनाएका छन् । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले जमिन खण्डिकरणले गर्दा देशको उत्पादनमा ह्रास आएको बताएकी छिन् । विराटनगरमा आयोजित एक कार्यक्रममा शनिबार उनले जनसंख्या भन्दै धेरै कित्ताकाट भएको बताइन् । आगमी जनगणनामा देशको जनसंख्या ३ करोड पुग्ने अनुमान भएपनि जमिन भने ३ करोड ६२ लाख ६ सय कित्तामा टुक्रिएको जानकारी दिइन् । जमिनको अत्यधिक खण्डिकरणले खेती र उत्पादन वृद्धि गर्ने काम प्रभावित भएको बताइन् ।

उद्घोष दैनिकमा बाटो नबनुन्जेल दिनहुँ विद्युत बन्द शिर्षकमा खबर छापेको छ । विराटनगरमा बाटो नबनुन्जेल दिनभर विद्युत आपुर्ति रोकिने भएको हो । दशैँअघि विराटनगर बजारको सडक कालोपत्रे गरिसक्ने भन्दै विद्युतका खम्बा सार्न दिनहुँ विद्युत आपुर्ति बन्द गरिने भएको हो । तर दिनभर विद्युत नभएपछि जनजीवन अस्तव्यस्त बनेको छ । बाटोकै कारण ट्राफिक जाम पनि बढेको छ । नाला र ढल निर्माणसँगै सडक विस्तारको काम आगामी नोभेम्बर २ तारिखसम्म सम्पन्न हुनु पर्ने भएपनि विभिन्न कारण केही समय लम्बिन सक्ने विराटनगर महानगरपालिकाका परियोजना प्रमुख भरत न्यौपानेले बताए । उनले विराटनगरमा पोल सार्ने काम धमाधम भइरहेको बताए ।

प्रदेशस्तरीय सुरक्षा गोष्ठि शुरु भएको समाचार जनविद्रोह दैनिकमा छ । विराटनगरमा प्रदेश १ को सुरक्षा बैठक शनिबारबाट शुरु भएको हो । २ दिने बैठकको उद्घाटन भने गृहमन्त्री रामबहादुर थापा बादलले आइतबार ( आज) गर्ने जनाइएको छ । बैठकमा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायतकाको सहभागिता रहेको छ ।

कृषकलाई बन्दाकोपी जोगाउनै मुस्किल भएको समाचारलाई ब्लाष्ट टाइम्सले मुख्य खबर बनाएको छ । धनकुटा र तेह्रथुमका कृषकलाई बन्दाकोपी जोगाउन मुस्किल पर्न थालेको छ । बन्दाकोपीमा वर्षेनी गाढे रोगले सताएपछि किसानहरु समस्यामा परेका छन् । धनकुटाको महालक्ष्मी नगरपालिकाका विभिन्न वडामा, छथर जोरपाटी नगरपालिकाका विभिन्न स्थान र तेह्रथुमको लालीगुराँस नगरपालिकाका विभिन्न स्थानमा लगाइएको बन्दाकोपीमा यो रोगले बन्दाकोपी सखाप पार्न लागेको हो ।

वन समूहसँग काठ माग्दै बेच्छन् प्रहरी शिर्षकमा ब्लाष्ट टाइम्समै अर्काे खबर छ । मोरङको कानेपोखरी गाउँपालिकामा रहेको अस्थायी प्रहरी चौकीमा प्रमुख भएर आएपछि अन्य ठाउँमा सरुवा भएपनि प्रहरी हत्तपत्त जान मान्दैनन् । चिसाङ खोलाबाट तीन महिना बन्द हुदाँ पनि ढुंगा गिट्टी मिलोमतोमा उत्खनन् गरि बेचबिखन गर्ने र चौकी वरपर रहेका सामुदायीक वनबाट काठ दाउरा तथा घेराबारकोलागि मागेर अरुलाई बेच्ने गरेका छन् । अहिलेपनि प्रहरी चौकीका प्रमुख सई शेखर श्रेष्ठको अन्य ठाउँ सरुवा भएपनि जान नमानेको समाचारमा उल्लेख छ ।

Loading...