fbpx

सुकुम्वासी र अव्यवस्थित बसोबास समस्या समाधान गरिने मन्त्री अर्यालको भनाई

विराटनगर २८ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सुकुम्वासी र अव्यवस्थित बसोबास समस्या समाधान गर्ने बताएकी छिन् । जिल्ला सहकारी सङ्घ लिमिटेड मोरङको शनिबार विराटनगरमा भवन उद्घाटन एवं सम्मान कार्यक्रममा उनले सरकारले ल्याउन लागेको भूमि ऐनबाट समस्या दीर्घकालीनरूपमा समाधान हुने बताइन् ।

मन्त्री अर्यालले सहकारीले रोजगारी सिर्जना गर्न र दिगो विकासको लक्ष्यमा पुग्न दु्रतगतिमा उत्पादनमुखी क्षेत्रमा लगानी गर्न आवश्यक रहेको बताइन् । कृषि र उत्पादन क्षेत्रमा गरिने लगानीमा कर छुटको व्यवस्था रहेको उनको भनाई छ । उनले भूमि बैंक स्थापनाको नियमावली अन्तिम चरणमा पुगेको बताउँदै स्थानीय सरकारले खाली जमीनको नक्सा उपलब्ध गराएपछि यसको समुचित प्रयोग गरी व्यावसायिक कृषि उत्पादन गरेर देशलाई आत्मनिर्भर बनाउने बताइन् ।

मन्त्री अर्यालले सहकारीमा जम्मा भएको जनताको रकमको सुरक्षाका लागि कर्जा सुरक्षण विभागमा आवद्ध गराउने व्यवस्था गरिएको बताइन् । उनले सुशासन कायम राखी पारदर्शीरुपमा सहकारीले कार्य गर्नुपर्नेमा जोड दिइन् । प्रदेशसभा सदस्य यशोदा अधिकारीले प्रदेश सहकारी ऐनले ठूला तथा मझौला आयोजना र जनतालाई आत्मनिर्भर बनाउने कार्यमा लगानी गर्न ढोका खुला गरेको बताइन् । सङ्घका अध्यक्ष डिल्ली पोखरेल, उपाध्यक्ष पार्वती बराल लगायतकाले सहकारीको माध्यमबाट रोजगारी सिर्जना गरी व्यावसायिक कृषि र पशुपालनमा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा मन्त्री अर्यालले भवन खरीद गर्न ५० हजारदेखि ५ लाख रुपैयाँसम्म सहयोग गर्ने १ सय १३ सहकारी संस्थालाई दोसल्ला ओढाएर सम्मान गरिन् । सङ्घले विराटनगर–९ स्थित चार धुर जग्गामा तीनतले भवन ९० लाख रुपैयाँमा खरीद गरेको छ ।

Loading...