fbpx

झापा पुगेर प्रचण्डले भने, ‘अबको पचास वर्ष कम्युनिष्टले सरकारको नेतृत्त्व गर्छ’

दमक, २८ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको पचास वर्ष कम्युनिष्टले सरकारको नेतृत्त्व गर्ने बताएका छन् । झापाको विर्तामोडमा शनिबार आयोजित गौरीशङ्कर खड्का स्मृति प्रतिष्ठानको साधारणसभा उद्घाटन समारोहमा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले नेपालमा कम्युनिष्ट आन्दोलनप्रति जनताको आशा र भरोसा अझ बढेको बताउँदै अबको ५० वर्ष कम्युनिष्टले सरकारको नेतृत्व गर्ने दावी गरेका हुन् । नेपालमा कम्युनिष्ट शक्तिले सरकारको नेतृत्व गरेको नरुचाउने तत्वले कम्युनिष्ट आन्दोलन र त्यसको नेतृत्वविरुद्ध जनतामा केही भ्रम सिर्जना गर्न खोजेको बताए ।

उनले भने, ‘आम जनताले पाँच वर्ष मात्र नभएर अबको पचासौँ वर्षसम्म कम्युनिष्टले नै सरकार चलाएको हेर्न चाहेका छन् । जनताको राजनीतिक अधिकार सुनिश्चित गर्ने जनआन्दोलन र जनयुद्धको नेतृत्व कम्युनिष्ट पार्टीबाट र सङ्घीय गणतान्त्रिक संविधानको निर्माण त्यसका नेतृत्वको सुझबुझपूर्ण एकताबाट भएको हो ।’

अध्यक्ष प्रचण्डले थपे, ‘आर्थिक समृद्धि र शान्तिको युगतर्फ मुलुकलाई लैजाने अवसरसमेत नेपाली जनताले हामीलाई नै सुम्पिएका छन् ।’

Loading...