लघुकथा ‘सहारा’

aa
सुधीरकुमार ‘‘सुमन’’

‘हैन के खाजा खान्छस् हँ आजकल ? लगेको पैसा पनि सप्पै फिर्ता ल्याएर खुत्रुकेमा हाल्छ, दुब्लाएर सिन्को भैसक्यो,’ छोरो आफ्नो पकेटमनी खुत्रुकेमा हाल्दै थियो । मेरी श्रीमती कराउँदै बैठक कोठामा छिरिन् । ‘पकेटमनी सेभ गरेर एउटा काम गर्नु छ के ।’ छोरोले पचासको नोट खुत्रुकेभित्र छिराउँदै भन्यो ।

‘के चाहिएको हो भन् न, बरु हामी किनेर ल्याइदिन्छम् । खाजा नै नखाइ यसरी ज्यान सुकाएर पनि हुन्छ त ?’ मातृवात्सल्य बोल्यो, ‘ठीकै भो, बजारको नानाभाँति खाजा खाएर झन् ज्यान खराब हुन्छ । कमसेकम बचत त हुन्छ । बरु घरैमा मीठो खाजा पकाएर पठाइदिनु नि, कि कसो बाबु ?’ मैले छोरोको सपोर्ट लिँदै बोलेँ ।

मेरा कुरा सुनेर छोरो म नजिक आयो । मायाले सुम्सुम्याएँ । श्रीमती खुट्टा बजार्दै बाहिर निस्किइन् । ‘किन हो त नि केटा पकेटमनी सेभ गर्न लागेको ? म कसैलाई भन्दिँन, खुसुक्क भन् न । बरु म पनि तेरो खुत्रुकेमा अलिकति पैसो हाल्दिम्ला ।’ मैले कुरो फुत्काउन खोजेँ ।

‘त्यस्तो केही हैन बा, स्कूलबाट फर्किने बेलामा त्यो ठूलो गेट छ नि, हो त्यो गेटमा बसेर एउटी बुढी आमोइले मलाई सधै चक्लेट, मिठाइजस्ता खानेकुरा दिनुहुन्छ । कहिले कहिले त लड्डु रसबरी पनि पो दिनुहुन्छ त । यो दशैंमा ती आमोइलाई गिफ्ट दिनुपर्यो भनेर नि !’ छोरो बोल्दै गयो । म भने आफ्नी आमालाई सम्झिएर भक्कानिएँ । आमाको पोल्टामा छामी–छामी निकालेको मिठाइ, बिस्कुट सम्झिएँ । साथसाथै छोरोको आमोइलाई सम्झेर मन अमिलो भयो ।

आज बिहानै केटाले खुत्रुके फुटाल्यो । हाम्लाई गन्न पनि नदिइकन पैसो पोको पारेर झोलामा हाल्यो । पहिले नै सहमति भएअनुसार उसकी आमालाई खबरै नगरी छोरा र म खुसुक्क बाइकमा चढेर बाहिर निस्कियौं । बजारबाट उसले बलियो लौरी किन्यो । म केही बोलिँन केवल छोराले जता भन्यो उतै ह्यान्डल मोडिरहेँ ।

‘ए ए यतै रोक्नु त,’ छोरोले मेरो काँध थपथपायो । रोक्ने बित्तिकै छोरो नजिकैको गेटबाट भित्र छिर्यो । म बाहिर नै बसेँ । आङ् जिरिङ्ग भयो । पाँच वर्षअगाडि बुहारीको टोकसो सहन नसकेर बृद्धाश्रम छिरेकी मेरी आमा मेरो छोरोले किनिदिएको बुढेसकालको सहारा टेक्दै बाहिर निस्किँदै थिइन् ।

Loading...