fbpx

सप्तरीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु

सप्तरी २७ भदौ । सप्तरीको कञ्चनरुप नगरपालिकामा छुट्टाछुट्टै सडक दुर्घटनामा शुक्रबार ३ जनाको मृत्यु भएको छ । सप्तरीको कञ्चनरुप ८ नन्दलालचोकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । फत्तेपुरबाट कञ्चनपुरतर्फ आउँदै गरेको बा ९१प १७३० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटसाइकलमा सवार कञ्चनरुप नगरपालिका–११ बस्ने त्रिभुवन चौधरी र रुपेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि गम्भीर घाइते भएका दुबैलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजवीराज पुर्याइएको थियो । उनीहरुको उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यस्तै कञ्चनरुप नगरपालिका–७ आदर्शटोलस्थित फत्तेपुर–कञ्चनपुर सडक खण्डमा फत्तेपुरबाट कञ्चनपुरतर्फ आउँदै गरेको टिपरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ ।

ना १ क ७९८३ नम्बरको टिपरले साइकलयात्री राजविराज–१० दिघवाका २० वर्षीय मनोज रामलाई ठक्कर दिँदा उनको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते रामको दुबै खुट्टा भाच्चिएपछि उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल ल्याइएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने टिपर र चालकलाई इलाका प्रहरी कार्यालय कञ्चनपुरले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Loading...