fbpx

‘एन्टी हिरो’ मा अनमोलको हिरोइन जसिता

विराटनगर, २७ भदौ । युवापुस्ता माझ चर्चित अभिनेता अनमोल केसीको मुख्य भूमिका रहने नयाँ फिल्म ‘एन्टी हिरो’ मा अभिनेता जसिता गुरुङले अभिनय गर्ने भएकी छन् । अभिनेता प्रदीप खड्कासँग ‘लिलिबिली’ र ‘लभ स्टेशन’ गरी दुई फिल्ममा काम गरिसकेकी र रेनाषाको ‘आइ एम ट्वान्टिवान’ मा अनुबन्धित भएकी जसिता अब भने अनमोलसँग जोडी बाँध्ने भएकी छन् ।

लामो समयदेखि दुईलाई स्क्रिनमा हेर्ने दर्शकको ठूलो इच्छासमेत रहेकोमा अब उक्त इच्छा पूरा हुने भएको छ । केही दिनयता निर्माता तथा अभिनेता भुवन केसी फिल्मका लागि अभिनेत्रीको खोजीमा रहेको भए पनि उनको नजरमा साम्राज्ञी आरएल शाह र जसिता गुरुङ रहेका थिए । साम्राज्ञीसँग खासै राम्रो सम्बन्ध नभएका कारण भुवनले जसितालाई फिल्मको अफर गरेका हुन् ।

भुवन र जसिताबीच मौखिक सहमति भइसकेको र केही दिनमा लिखित सम्झौतासमेत हुने भएको छ । उनले ‘एन्टी हिरो’ र ‘आईएम ट्वान्टिवान’ मध्ये कुन फिल्म अगाडि गर्नेछिन् त्यसको विषयमा कुनै जानकारी प्राप्त भएको छैन ।

आफ्नै होम प्रोडक्सन दि सुपर काजल फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्मको तिहारपछि छायांकन सुरु हुने भएको छ । क्सन–लभस्टोरी बताइएको फिल्ममा अनमोल एक्सन तथा लभरब्वाईको भूमिकामा देखिने छन् । फिल्ममा भुवन नेगेटिभ रोलमा देखिँदै छन् ।

केही दिनमा निर्देशक र अभिनेत्रीको छनोट गरेर फिल्मको औपचारिक घोषणा गर्ने भुवनले बताएका छन् । निर्देशक नभेटिएको खण्डमा फिल्मलाई भुवन आफैले निर्देशन गर्ने भएका छन् । केही समयदेखि फिल्मको स्क्रिप्टमा धमाधम काम चलिरहेको छ । फिल्मलाई आउने नयाँ वर्षको छेकोमा प्रदर्शन गरिने सम्भावना देखिएको छ । उनले फिल्मको विषयमा अरु कुनै पनि जानकारी भने दिएका छैनन् ।

Loading...