fbpx

सबैभन्दा मनपर्ने देश नेपाल भन्दै सन्नीले भनिन्, ‘मलाई नेपाली फिल्ममा काम गर्ने मन छ’

विराटनगर, २७ भदौ । बलिउडकी चर्चित अभिनेत्री सन्नी लियोन नेपाल आएकी छन् । बिहीबार साँझ कुमारी हलमा भएको प्रिमियरका लागि उनी आफ्नो श्रीमान् डेनियल वेबरसँग नेपाल आएकी हुन् । बिहीबार दिउँसो साढे ४ बजे काठमाडौंको त्रिभुवन विमानस्थलमा आएकी सन्नीले बिहीबार साँझ आयोजित प्रिमियरमा सहभागी भएर फिल्मको बारेमा अन्तक्र्रियासमेत गरिन् ।

film

नेपालको रमणीय स्थान घुम्न र आफू ब्रान्ड एम्बसेडर रहेको कम्पनीको ब्रान्ड प्रवद्र्धन गर्न नेपाल आएकी सन्नी फेरि पनि नेपाल आउन पाउँदा एकदमै खुशी भएको बताइन् । उनलाई संसारकै सबैभन्दा मनपर्ने देश नेपाल रहेको र आफू पनि नेपाली फिल्मको हिस्सा बन्न पाएकोमा खुशी व्यक्त गरिन् ।

नेपाली फिल्मको हिस्सा बन्न पाएकोमा निकै गर्व महसूस भएको भन्दै फेरि पनि नेपाली फिल्म गर्ने बाचा का साथ ‘पासवर्ड’ को सफलताको कामना गरिन् । फिल्ममा समावेश गरिएको ‘आजको शाम’ बोलको गीतमा आइटम नृत्य गरेकी सन्नीले आफूले नृत्य गरेको गीत निकै राम्रो रहेको र आफूले धेरैपटक सुनेको र गीत नेपाली भाषामा भए पनि आफूलाई लिप्सिङ गर्न गाह्रो नभएको बताइन् ।

नेपालमा आफूले पाएको आतिथ्य र मायाले निकै उत्साहित बनाएको र आगामी दिनमा पनि आफू नेपाली फिल्महरूमा काम गर्न चाहेको बताइन् । प्रिमियरमा उपस्थिति भए पनि एक विशेष काम रहेको भन्दै पूरा फिल्म नहेरी करिब आधा घण्टामै हलबाट बाहिरिएकी थिइन् ।

भव्यताका साथ आयोजना गरिएको प्रिमियरमा फिल्मका निर्देशक सम्राट बस्नेत, अनुपविक्रम शाही, विक्रम जोशी, परि राना, रवीन्द्र झा अभिनेता भुवन केसी, निर्देशक दीपश्री निरौला, निर्देशक दीवाकर भट्टराई, अभिनेता मनिष सुन्दर श्रेष्ठलगायतको उपस्थिति रहेका थिए ।

फिल्म आजबाट देशभर प्रदर्शनमा आएको छ । सेप्टेम्बर २० अर्थात् असोज ३ गते फिल्मको विदेश प्रदर्शन सुरु हुने भएको छ । फिल्म नेपालमा प्रदर्शन भएको एक साता पछाडि १२ विभिन्न देशका २४ शहरमा एकसाथ प्रदर्शन हुने निश्चित भएको छ ।

Loading...