fbpx

शुक्रबार रिलिज : हलमा सन्नी अभिनित ‘पासवर्ड’ संग भिड्दै ‘हिरो नम्बर १’

विराटनगर, २७ भदौ । फ्राइडे रिलिजअन्तर्गत आज दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् । फिल्म ‘पासवर्ड’ संग भिडन्त गर्दै ‘हिरो नम्बर–१’ प्रदर्शनमा आएको हो । ‘पासवर्ड’ प्रचार–प्रसारसहित प्रदर्शनमा आएको हो, भने ‘हिरो नम्बर १’ भने केही प्रचार–प्रसार नगरी प्रदर्शनमा आएको हो ।

‘पासर्वड’ले मल्टिप्लेक्समा राम्रो शो पाएको छ भने ‘हिरो नम्बर–१’ सिङ्गल स्क्रिनमा मात्रै सीमित रहेको छ । बलिउडकी चर्चित अभिनेत्री सन्नी लियोनीका कारण चर्चामा रहेको फिल्म ‘पासवर्ड’लाई सम्राट बस्नेतले निर्देशन गरेका हुन् । एक्सन तथा लभ स्टोरीमा निर्माण भएको फिल्मलाई हिरल जोशी र अमित बस्नेतले संयुक्त रूपमा निर्माण गरेका हुन् ।

एबी इन्टरनेशनलको ब्यानरमा बनेको फिल्ममा सन्नीका साथ अनुप विक्रम शाही, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, विक्रान्त बस्नेत, रवीन्द्र झा, प्रविण खतिवडा, लिशा सुनारलगायत कलाकारहरूको अभिनय रहेको छ । फिल्मको बिहीबार साँझ कुमारी हलमा हुन लागेको प्रिमियर शोको लागि सन्नी हिजो नेपाल आएकी हुन् ।

सन्नीले फिल्ममा समावेश गरिएको ‘आजको शाम’ गीतमा आइटम नृत्य गरेका कारण चर्चामा रहेको फिल्म ‘पासवर्ड’मा नृत्यसंग सँगै अभिनय पनि रहेको निर्देशकले बताएका छन् । सेप्टेम्बर २० अर्थात् असोज ३ गते फिल्मको विदेश प्रदर्शन सुरु हुने भएको छ ।

फिल्म नेपालमा प्रदर्शन भएको एक सातापछाडि १२ विभिन्न देशका २४ शहरमा एकसाथ प्रदर्शन हुने निश्चित भएको छ । मलेसिया, जर्मनी, पोर्चुगल, क्यानडा, दुबई, अमेरिका, अस्ट्रेलिया, कोरिया, जापान, भारतलगायतका देशमा फिल्म एकसाथ प्रदर्शन हुने भएको छ । जयकिशन बस्नेतको निर्माण तथा निर्देशनमा तयार भएको ‘हिरो नम्बर–१’ एक कमेडी र एक्सन मिश्रित फिल्म हो ।

फिल्ममा जय किशन बस्नेत, एलिना रायमाझी, जाहान्वी बस्नेत, लय संग्रौला, राजीवजंग बस्नेत, संघरत्न महर्जन, शोभित बस्नेत, मदन ताम्राकार, टार्जन, शुभेच्छा थापा, प्रनिप अधिकारीलगायतका कलाकारहरुको अभिनय रहेको छ । बिनोद सापकोटाको छायाँकन रहेको फिल्ममा तारावीर पाण्डे, हरि थापा र सूर्य रुम्बाको संयुक्त संगीत, शंकर महर्जनको द्वन्द्व र सुदीप पाण्डेको सम्पादन रहेको छ ।

Loading...