fbpx

‘ए मेरो हजुर ४’ मा अनमोल नदोहोरिने, प्रदीपलाई गरियो अफर

विराटनगर, २७ भदौ । ‘प्रेमगीत’ को सिरिजबाट युवा पुस्तामाझ चर्चित अभिनेता प्रदीप खड्कालाई फिल्मको कमी छैन । तर, उनले फिल्मको राम्रो स्क्रिप्ट हेरेर मात्र फिल्म साइन गर्ने गरेका छन् ।

यतिबेला प्रदीप चलचित्र ‘प्रेमगीत ३’ मा व्यस्त रहेका छन् । नयाँ वर्षको छेको पारेर चैत्र २८ गते रिलिज गरिने तयारीमा रहेको छ । त्यस्तैमा प्रदीपलाई अहिलेको निकै चलेको फिल्म ‘ए मेरो हजुर’को चौथो सिरिजको अफर आएको खबर सार्वजनिक भएको छ । सुपरहिट फिल्म ‘ए मेरो हजुर’ को चौथो सिरिजले २०७७ को दशैंमा प्रदर्शन गर्नका लागि लगभग तय गरिसकेको छ ।

kala

दशैंमा लामो बिदा हुने हुँदा फिल्मलाई लगानी उठाउन गाह्रो नहुने भएकोले अधिकांश निर्माता तथा निर्देशकले फिल्मको प्रदर्शनको लागि दसैँलाई नै रोज्ने गरेका हुन्छन् । अभिनेता अनमोल केसी आफ्नै होम प्रोडक्सनमा निर्माण हुन आँटेको नयाँ फिल्म ‘एन्टी हिरो’ मा काम गर्ने तयारी गरेसँगै निर्माता तथा निर्देशिका झरना थापा ‘ए मेरो हजुर ४’को तयारीमा जुटेकी छन् ।

‘ए मेरो हजुर ४’मा मुख्य अभिनेत्रीको भूमिकामा सुहाना थापा नै हुने पक्का भइसकेको छ । फिल्ममा अनमोल नदोहोरिने भएपछि अभिनेता प्रदीप खड्कालाई ‘ए मेरो हजुर’ को चौथो सिरिजबाट अफर गरिएको हो । यसको अघिल्लो सिरिजमा पनि उनलाई अफर गरिएको थियो तर, समय व्यस्तताका कारण यसअघिका सिरिजहरू प्रदीपले गर्न भ्याएनन् ।

फिल्मका निर्माता सुनिलकुमार थापा र प्रदीपबीच फिल्मको विषयमा दुईपटक कुराकानी भइसकेको छ । ‘ए मेरो हजुर ४’को छायांकन मंसिरबाट सुरु हुने निर्माता सुनिलले बताएका छन् । ’प्रेमगीत ३’ पछि उनी अभिनेत्री साम्राज्ञी आरएल शाहसंग निर्देशक हेमराज विसीको फिल्म ‘शुभ विवाह’ गर्दै छन् । तर, निर्माता थापाले उनलाई ‘प्रेमगीत ३’ पछि ‘ए मेरो हजुर ४’ गर्न आग्रह गरेका छन् ।

प्रदीपले भने अहिलेसम्म कुन फिल्म गर्ने भनेर निर्णय गरेका छैनन् । प्रदीप अभिनित ‘लिलिबिली’, ‘रोज’ र ‘लभ स्टेशन’ ले व्यवसायीक सफलता हात पार्न नसके पनि प्रदीपको डिमान्डमा र पारिश्रमिकमा कुनै पनि कमी आएको छैन । प्रदीपको करिअरलाई अझ उकास्न दुवै फिल्मको ठूलो भूमिका रहने हुँदा उनलाई निर्णय लिन निकै कठिन भएको छ ।

Loading...