fbpx

सहकारीको योजना : सुत्केरी हुँदा नगद उपहार, मृत्यु भए ऋण मिनाहा

विर्तामोड २७ भदौ । झापाको विर्तामोडमा रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्य सुत्केरी भए नगद उपहार दिने गरेको छ । सुत्केरीलाई पौष्टिक आहारका लागि सहकारीले नगद उपहार दिएको हो ।

सहकारीबाट समृद्धि होस् भन्ने उद्देश्यले आयआर्जनका क्षेत्रमा सहभागीता गराउँदै महिलालाई बचत गर्ने बानीको विकास गराउनपनि सुत्केरी महिलालाई प्रोत्साहनस्वरूप नगद उपहार थालिएको सहकारीका अध्यक्ष भवानीप्रसाद दङ्गालले बताए । आमा र नवजात शिशुको स्वास्थ्यलाई मध्यनजर गर्दै पौष्टिक आहारका लागि जसले महीनामा जति रुपैयाँ बचत गर्नुहुन्छ त्यत्तिनै रुपैयाँ सहकारीबाट दिने उनले बताए ।

सहकारीमा आबद्ध महिलाहरुले सुत्केरी हुँदा न्यूनतम ५०० रुपैयाँदेखि पाँच हजार रुपैयाँसम्म उपहार पाएका छन् । सहकारीले योसँगै नवजात शिशुको निःशुल्क खाता खोल्दै ५०० रुपैयाँदेखि पाँच हजार रुपैयाँ खातामा बचत गरिदिने गरेको अध्यक्ष दङ्गालको भनाइ छ । आव २०७५÷७६ मा सहकारीमा आबद्ध ४१ महिला सुत्केरी भएको र उनीहरुलाई ७७ हजार रुपैयाँ सहकारीले सुत्केरी सुविधा प्रदान गरेको छ । त्यस्तै ४१ नवजात शिशुको निःशुल्क खाता खोल्दै ४९ हजार ५०० रुपैयाँ बचत गरिदिएको अध्यक्ष दङ्गालले बताए ।

सहकारीमा आबद्ध सदस्यको मृत्यु भएमा समेत सहकारीले ऋण मिनाहा गर्दै आएको छ । परिवारलाई आर्थिक भारबाट मुक्त गराउन सहकारीले सदस्यको मृत्यु भएमा सबै ऋण मिनाहा गर्दै आएको सहकारीका अध्यक्ष दङ्गालले बताए । आव २०७५÷७६ मा सहकारीमा आबद्ध पाँच जनाको निधन हुँदा चार लाख २८ हजार ५९७ रुपैयाँ ऋण मिनाहा भएको अध्यक्ष दङ्गालले बताए ।

झापामा अधिकांश सहकारीले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत यस्तैखाले विभिन्न कार्यक्रम सञ्चालन गर्दा विपन्न समुदायका महिलालाई सबैभन्दा बढी फाइदा पुग्ने गरेको जिल्ला सहकारी सङ्घका अध्यक्ष गणेश ढकालले बताए । विर्तामोड नगरपालिकाभित्रै रहेको अर्को एक सहकारीले विर्तामोड नगरभित्र भित्रिएका नव दुलहीलाई १ हजार उपहार प्रदान गर्दै आएको छ । तर, दुलाहा वा उनको परिवार विर्तामोडमा रहेको सृजनशील बचत तथा ऋण सहकारी संस्थामा आबद्ध भएको हुनुपर्छ । सहकारीमा सबै दुलहीलाई आबद्ध गराउँदै स्वावलम्बी बनाउन सहकारीले यस्तो अभियान सञ्चालन गरेको जनाएको छ ।

Loading...