fbpx

सागरनाथ वनका विषयमा प्रदेश २ का मुख्यमन्त्रीको असन्तुष्टि, कानुनी उपचार खोज्ने उद्घोष

काठमाडौँ २६ भदौ । २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले प्रदेश सरकारको अधिकार कुण्ठित गर्न खोजेको भन्दै कानुनी उपचार खोजिने बताएकाछन् । उनले केन्द्र सरकारले ल्याएका विधेयक तथा ऐनहरुको एकमुष्ट खारेजीको लागि सर्वोच्च अदालत जाने चेतावनी दिए ।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा बोल्दै मुख्यमन्त्री राउतले यस्तो चेतावनी दिएका हुन् । राउतले संघीय सरकारले सागरनाथ वनको सवालमा पनि अहिले प्राधिकरण गठन गरेर वनलाई आफ्नो मातहातमा राख्न खोजिरहेकोमा असन्तुष्टि जनाए । उनले यस्तो विषय प्रदेश २ सरकालाई मान्य नहुने बताए । वनको विषय संविधानले प्रदेशलाई दिएको भन्दै उनले भने, ‘केन्द्र सरकारलाई जवाफ दिनको लागि पनि भर्खरै सागरनाथमै हाम्रो प्रदेशको मन्त्रिपरिषदको बैठक राख्यौं ।’

newss

अहिलेपनि केन्द्रका शासकहरुमा हिजोकोजस्तै मानसिकता रहेको उनको भनाई छ । उनले संविधानले राष्ट्रिय वनको सवालमा यो अधिकार प्रदेश सरकारलाई दिएकोमा केन्द्र सरकारले गलत तवरले आफ्नो मातहातमा राख्ने प्रयास गरिरहेको आरोप लगाएका हुन् । उनले भने,‘संघले जंगल मास्न खोजिरहेको छ । हामी कुनैपनि हालतमा मास्न दिँदैनौं । जंगल मासियो भने मधेश समाप्त हुन्छ । त्यसैले हामी मधेश बचाउन तयार छौं । मधेश बाँच्यो भनेमात्रै देश बच्छ । चुरेको दोहन हुन दिँदैनौं ।’

गणतन्त्र, संघीयता, समानूपातिक–समावेशितालगायतका विषयमा ठूला उपलब्धि भएको बताउँदै उनले यसको रक्षाको लागि सबै एकजुट भएर लाग्नुपर्ने पनि धारणा राखे । सिमित साधन र स्रोतका बावजुदपनि विकास र समृद्धिको लागि युद्धस्तरमा काम गरिरहेको उनको भनाई छ ।

मुख्यमन्त्री राउतले जनताका आकांक्षाअनुसार आफूहरुले काम गरिरहेको पनि स्पष्ट पारे । राउतले संघीयतालाई कार्यान्वयन गर्नको लागि संघीय सरकारले प्रदेश र स्थानीय सरकारलाई संविधानअनुसार अधिकार दिनुपर्नेमा जोड दिए । उनले अपेक्षित काम हुन नसकेको भने स्विकार गरे । उनले आफूहरुको प्रयासलाई अहिल्यै नै मूल्यांकन गर्न नमिल्ने सुझाए । उनले आफूहरुले लोकसेवा आयोग गठन गरिसकेकोले अब छिट्टै प्रदेशमा कर्मचारी भर्ना गर्ने सुनाए ।

मुख्यमन्त्री राउतले आफू कामबाट पूर्ण रुपमा सन्तुष्ट रहेको सुनाउँदै प्रदेशमा काम नै भएन भनेर काठमाडौंबाट टिकाटिप्पणी गर्न नहुने जिकिर गरे । उनले भने, ‘गाउँ गाउँमा ढलौट रोड बनेका छन् । स्कुल र अस्पतालहरु धमाधम निर्माण भइरहेका छन् ।’
उनले कुनै पनि तहबाट यो व्यवस्थामाथि अप्ठ्याराहरु खडा गर्न नहुने बताए । उनले भने,‘यदि हर्डल्स खडा गरियो भने समृद्धि हासिल गर्न सकिँदैन् ।’

Loading...