fbpx

विराटनगरमा डेंगुबाट एकजनाको मृत्यु

मोरङमा संक्रमितकाे संख्या १५९ पुग्याे

विराटनगर, २६ भदौं । विराटनगरमा डेंगुका कारण एकजनाकाे मृत्यू भएकाे छ । डेंगुका कारण विराटनगर– १० का १८ वर्षिय अभिनास शर्माको मृत्यु भएको हो ।

विराटनगरको शिक्षादीप कलेजको कक्षा १२ मा अध्ययनरत शर्मालाई मंगलबार गोल्डेन अस्पताल विराटनगरमा भर्ना गरिएको थियो । उपचारका क्रममा बुधबार उनको मृत्यु भएको अस्पतालले जानकारी दिएकाे छ ।

विराटनगर– ९ भूमी प्रशासन चोकका फर्निचर उद्योग सञ्चालक राजकुमार शर्माका छोरा अविनाशलाई भदौ २० गते सामान्य ज्वरो आएपछि उपचारका लागि नजिकैको सप्तकोसी नर्सिङ होममा लगिएको थियो । अस्पतालमा परीक्षण गराउँदा उनमा डेंगुको संक्रमण देखिएकाे थियाे । घरमै राखेर चिकित्सकको सिफारिसमा औषधि खुवाउँदै आए पनि दुई दिनपछि ज्वरो बढेपछि गोल्डेन अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारका क्रममा शर्माको गोल्डेन अस्पतालमा बुधबार बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकरी दिए । उनले डेंगुका कारण मृत्यु भएको मोरङमा पहिलो भएको बताए । उनका अनुसार मोरङमा १५९ जनामा डेंगुको संक्रमण देखिएको छ ।

प्रदेश १ मा पहिलो पटक धरानमा वैशाख ३० गते डेंगु देखिएको हो । डेंगुका कारण ५६ जिल्लामा प्रभावित भएका छन् । मोरङमा जेठ पहिलो साताबाट भित्रिएको डेंगुबाट संक्रमित हुनेको संख्या एक सय ५९ मध्ये अस्पतालमा थाेरै छन् ।

Loading...