fbpx

नादेझ्दा कप : फाइनलमा चुक्यो नेपाल

विराटनगर, २६ भदौ । नेपाली महिला राष्ट्रिय फुटबल टोली किर्गिस्तानमा जारी नादेझ्दा कपको फाइनलमा पराजित भएको छ । फाइनल खेलमा उज्बेकिस्तानसँग ३–२ गोल अन्तरले पराजित भएको हो ।

उज्वेकिस्तासँगको पराजयसँगै नेपाल आठौं पटक फाइनलमा पुगेर उपाधिविहिन बनेको छ । नेपालको उपाधि यात्रामा ६ पटक भारत र १ पटक म्यानमार पछि उज्वेकिस्तान तगारो बन्यो ।

पिछल्लाे समय नेपाली टाेली विराटनगरमा आयोजित साफ च्याम्पियनसिपमा भारतसँग फाइनलमा पराजित भएको थियो । त्यसअघि भारतको कोलकातामा भएको हिरो गोल्डकपमा म्यानमारसँग पराजित भएको  थियाे ।

बिहीबारकाे खेलमा उज्बेकिस्तानले  ३९ औं मिनेटमा अग्रता लिएको थियो । पहिलो हाफ १–० ले अघि रहेको उज्वेकिस्तानले दोस्रो हाफको सुरुवातमा नै अग्रता दोब्बर बनाएको थियो । ५४ औं मिनेटमा दोस्रो गोल गरेको उज्वेकिस्ताले ६४ औं मिनेटमा तेस्रो गोल गरेको थियो ।

नेपालका लागि सावित्रा भण्डारीले ६७ औं मिनेटमा गोल फर्काइन् । खेलको इन्जुरी समयमा साबित्राले दोस्रो गोल गरेकी थिइन् । ८६ औं मिनेटमा पनि सरुको पासमा सावित्राले गोल गर्ने अवसर पाएकी थिइन् । तर बललाई सदुपयोग गर्न नसक्दा नेपालको अवसर गुम्यो ।

Loading...