fbpx

चाडपर्वमा नेपाली चलचित्रलाई हल उपलब्ध गराउने व्यवस्था गर्न सांसदको माग

विराटनगर, २६ भदौ । एक नम्बर प्रदेश सांसद राजन राईले दशैं, तिहार र छठ पर्वको बेला नेपाली चलचित्रहरू मात्र सिनेमा हल उपलब्ध गराउनुपर्ने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । बिहीबार प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै सांसद राईले नेपाली चलचित्र उद्योग भारतीय चलचित्रसँग प्रतिस्पर्धा गर्न नसक्दा धरासायी बन्दै गइरहेकोले चाडवाडका बेला नेपाली चलचित्रहरूलाई हल उपलब्ध हुनसके प्रोत्साहन पुग्ने बताए ।

उनका अनुसार चाडवाडका बेला प्रर्दशन हुने भारतीय चलचित्रले गर्दा नेपाली चलचित्रले हल पाउन नसक्दा लगानी खेर जाने गरेको छ । नेपाली पर्वहरू दशैं, तिहार र छठमा चलचित्रको व्यापार राम्रो हुने गर्दछ । सांसद लीला सुब्बाले धनकुटाको आठपहरिया राईलाई पर्यटकीय जातीको सूचीमा सूचिकृत गर्न माग गरिन् ।

newss

पर्यटकीय जातीका रूपमा सूचीकृत भएमा भ्रमण वर्ष २०२० धेरै विदेशी पर्यटकहरू आठपहरिया राईहरूको भाषा संस्कृतिको अध्यन गर्न धनकुटा आउन सक्ने बताइन् । उमिता बराइलीले सरकारी विद्यालयको खस्कँदो गुणस्तरलाई उकास्न प्रदेश सरकारसँग माग गरिन् ।

सांसद उमिताले निजी विद्यालयको गुणस्तर दिन–दिनै बढ्दै गइरहेको तर सरकारी विद्यालयको भने झन्–झन् खस्दै गएकोले शिक्षाको गुणस्तरमा विभेद बढिरहेको बताइन् । उनले सरकारी विद्यालयलाई दक्ष प्राविधिक जनशक्ति र स्रोत साधनले सम्पन्न बनाउन आग्रह गरिन् । सांसद बराइलीले भनिन्, सरकारी स्कुल गरिब र दलितहरूका छोराछोरी पढ्ने स्कुल मात्र भएको छ, यसतर्फ सरकारको ध्यान जाओस् ।’

सांसद नारायणबहादुर मगरले उदयपुरको दक्षिणी क्षेत्रका केही गाउँपालिका बासिन्दाहरू दुई नम्बर प्रदेशमा पर्न गएको तर उनीहरूको नाप–नक्सा भने उदयपुरमै भएकोले स्थानीयहरू दुई नम्बर प्रदेशमा जान नचाहेकोले प्रदेश सरकारले उनीहरूलाई एक नम्बरमै ल्याउनुपर्छ भने ।

Loading...