fbpx

युरिक एसिड हुँदा के खाने, के नखाने ? यस्तो छ डाक्टर कल्याणको सुझाव

विराटनगर, २६ भदौ । कुनै पनि जीवको प्रत्येक कोषमा डिएनए वा आरएनए हुन्छ । जसले प्राणीको बङ्गशाणुगत सन्देश अर्को कोषमा वा सन्तानमा सार्ने काम गर्छ र उक्त कोषले जुन बङ्गशाणुगत सन्देश आफूमा छ त्यहीअनुसार को व्यवहार गर्छ ।

डिनए वा आरएनएहरू नियेमित रूपमा टुक्रिएर खानामा पाइने प्युरिन भन्ने एउटा तत्त्वसँग पचेर अन्तिममा युरिक एसिड बन्छ । यसका साथै डाक्टर कल्याण सुबेदीका अनुसार मानव शरीरको कोषहरू विभिन्न कारणले मर्दा वा मासु, गेडागुडी तथा तरकारी जस्ता जीवित कुराहरू खाँदा वा जीवित कुराहरूबाट बनेका कुराहरू खाँदा अन्तिममा ति जीवका कोषहरू टुक्रिएर युरिक एसिड बन्ने गर्छ ।

newss

शरीरमा बनेको युरिक एसिड मिर्गौलाबाट छानिएर पिसाब हुँदै बाहिर निस्कन्छ । यो हरेक मानिसको शरीरमा हुने नियेमित प्रक्रिया हो । मिर्गौलाले युरिक एसिडलाई छान्ने काम गर्छ । मिर्गौलाले युरिक एसिड राम्ररी फाल्न नसक्दा वा शरीरले फाल्न सक्ने क्षमताभन्दा बढी उत्पन्न हुँदा युरिक एसिड बढ्नु त स्वभाविक नै हो तर, कहिलेकाँहि उपवास वा तीब्र रूपमा तौल घटाउने चाहना, शारीरिक श्रम नगर्ने, धेरै प्रोटिनयुक्त खानेकुरा, शरीरमा इण्डोक्राइन रोग, क्यान्सर, केमोथेरापी, एनिमिया, दीर्घकालीन रक्सीको सेवन, मधुमेह, रक्तचाप, मोटोपन, विभिन्न औषधिको सेवन गर्ने मानिसमा युरिक एसिड बढ्ने सम्भावना बढी हुन्छ ।

प्युरिन तत्त्व धेरै भएको खाना धेरै खान्छौं वा अन्य धेरै कारणले युरिक एसिडको मात्रा शरीरको रगतमा धेरै हुन जान्छ । सामान्य रूपमा शरीरका जोर्नीहरू दुख्ने, झमझम गर्ने, हातखुट्टाको मासुमा पीडा हुने, जोर्नीहरू कक्रक्क हुने, तीघ्राको मासु फत्रक्क गल्ने आदि समस्या युरिक एसिड बढेका लक्षण होइनन् । राति सुतेको मान्छे बिहान उठ्दा हातका औंला, खुट्टाको औंलाको जोर्नी सुन्निने तथा दुखाइको महसूस हुन्छ भने युरिक एसिड भएको हुनसक्छ । यदि, शरीरमा केही प्रकारको पीडा पहिलेबाटै छ वा थियो भने बढेको युरिक एसिडले उक्त दुखाइलाई झनै बढाउने गर्दछ ।

यो रोगले शरीरको सानो सानो हाडजोर्नीहरूमा असर पुर्याउने हुँदा पछि भविष्यमा गएर यसले जोर्नीको दुखाइ, वाथ रोग, हड्डीमा गाँठो, मिर्गौलामा पथरी तथा मिर्गौला बिग्रिनेलगायतको समस्या निम्त्याउने गर्छ । नियमित खान हुने कुराहरूमा प्रशस्त मात्रामा पानी, मौसमअनुसारको फलफूल, हरियो तरकारीहरू, दूध–दही, दूधबाट बनेको चिज तथा पनिर, अण्डा, आँटाले बनेको पाउरोटी, भात, बदाम, ओखर, बेरी, कागती आदि तथा क्याल्सियम तथा प्रोटिनयुक्त खानाको सेवन बढाउनुपर्छ ।

कहिलेकाहीं खान हुने कुराहरूमा भने १ सय ५० ग्राम जति माछा मासु हप्ताको २–३ दिन, गेडागुडी र दालहरू हप्ताको ३ देखि ४ दिनसम्म, साग, केराउ, काउली, र च्याउ हप्ताको ३ दिन, बियरबाहेकका रक्सीहरू थोरै मात्रामा हप्तामा १ देखि २ दिनसम्म खान सकिन्छ । खानै नहुने वा सकेसम्म कम खाने कुराहरूमा मासुमा मांशपेशी बाहेकका अंगहरू जस्तै जिब्रो, कलेजो, गिदी, मिर्गौला आदि, मासुको ग्रेबी, बियर, मैदा पिठोका परिकार, गुलियो खानेकुरा, चुरोट, खैनी, रक्सी, बियरजस्ता पदार्थको सेवन, कोक, फ्यान्टा, स्प्राइट, पेप्सी, मिरिण्डाजस्ता सफ्ट ड्रिँक, चकलेट पर्छन् ।

Loading...