fbpx

म रोनाल्डोको साथी होइन तर संगै डिनर गर्ने निम्तो स्वीकार्छु : मेस्सी

एजेन्सी, २६ भदौ । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो आफ्नो साथी नरहेको बताएका छन् । उनले स्पेनिस मिडिया ‘स्पोर्ट्स’सँगको कुराकानीका क्रममा आफू रोनाल्डोको साथी नभएतापनि उनको संगै डिनर गर्ने निम्तो स्वीकार गर्ने बताएका हुन् ।

game

इटालियन क्लब युभेन्टसका स्टार रोनाल्डोले केही साताअगाडि अर्जेन्टिनी स्टार मेस्सीसँग डिनर गर्ने इच्छा रहेको बताएका छन् । यूईएफएले आयोजना गरेको अवार्ड वितरण कार्यक्रममा रोनाल्डोले आफूहरूले ला लिगामा प्रतिद्वन्द्वीको रूपमा खेले तापनि मेस्सीसँग डिनर गर्ने इच्छा रहेको बताएका थिए । रोनाल्डोले त्यसअघि पनि पटक–पकट यो कुरा बताउँदै आएका थिए ।

newss

समान पाँच–पाँच पटकका बालोन डी‘ओर विजेता मेस्सी र रोनाल्डोले ९ वर्ष ला लिगामा प्रतिद्वन्द्वीका रूपमा बिताएका थिए । तर, पोर्चुगिज स्टार अघिल्लो वर्ष मात्र ला लिगा क्लब रियल मड्रिड छोडेर इटालियन क्लब युभेन्टस गएका थिए । रोनाल्डोले पटक–पटक संगै डिनर गर्ने इच्छा जताएपछि मेस्सीले यसबारे मुख खोलेका छन् ।

उनले ‘स्पोर्ट्स’सँगको कुराकानीका क्रममा आफू रोनाल्डोको निम्तोदेखि धेरै खुशी भएको बताउँदै निम्तो स्वीकार गरेको बताए । उनले टेबलमा एकसाथ बसेर रोनाल्डोसँग डिनर अथवा लन्च गर्न आफू तयार भएको बताए । उनले भने, ‘हो, संगै बसेर डिनर गर्नुमा मलाई कुनै समस्या छैन ।’

३२ वर्षीय मेस्सीले रोनाल्डो र आफूले एउटै ड्रेसिङ कोठा प्रयोग नगरेका कारण आफूहरू साथी–साथी नभएको बताए । ‘मैले सधैं भन्दै आएको छु कि, उनीसँग मेरो कुनै समस्या छैन’, उनले थपे, ‘हामी साथी–साथी होइन । किनकी, हामीले कहिल्यै पनि एउटै ड्रेसिङ रूपमा प्रयोग गरेका छैनौं । मैले सधैं उनलाई अवार्ड कार्यक्रममा मात्र देख्ने गर्छु र त्यहाँ कुनै समस्या हुँदैन ।’

यस्तै मेस्सीले आफूरूबीच बातचित भइरहने बताउँदै भने, ‘हामीहरू लामो सयमदेखि एक–अर्कासँग कुरा गर्दै आइरहेका छौं । मलाई थाहा छैन कि, डिनर हुन पाउँछ–पाउँदैन । वा, हाम्रो पाइलाहरूमा कुनै कारण पो आइपर्छ कि अथवा हामीलाई आफ्नो परिवार र समुदायले रोक्छ कि ? तर, पक्कै पनि म रोनाल्डोको यो निम्तोलाई स्वीकार गर्छु ।’

मेस्सी हाल पूर्ण रूपमा फिट भएर ला लिगाका खेलमा फर्कनका लागि प्रयासरत छन् । नयाँ सिजनको ला लिगाको सुरुआत हुनुभन्दा अगाडि नै अभ्यासका क्रममा घाइते हुन पुगेका मेस्सी च्याम्पियन्स लिगको समूह चरणको खेलबाट मैदान फर्किन सक्ने सम्भावना रहेको बताइएको छ ।

सम्बन्धित समाचार:

अवार्ड समारोहमा मेस्सी र रोनाल्डोले एक–अर्कालाई के भने ?

मेस्सीले मलाई उत्कृष्ट खेलाडी बनाएका हुन् : रोनाल्डो

Loading...