fbpx

खुट्टा सुन्निने समस्या महिलामा बढी

विराटनगर, २६ भदौ । खुट्टा सुन्निने समस्या महिलाहरूमा बढी हुने गर्छ । ब्यस्त जीवन, दिनभरिको काम, खानपानमा समस्या, आराम गर्ने समय नभएको कारण खुट्टा सुन्निनु आजकल सामान्य समस्या हुन थालेको छ । ४०–४५ वर्षका महिलाहरूमा हर्मोनको असन्तुलन वा मोटोपनाका कारणले पनि खुट्टा सुन्निने समस्या हुन सक्छ ।

खुटा सुन्निनुको कारण यति मात्र नभएर अत्यन्तै जटिल कारणहरूसम्म हुन सक्छ । सामान्य अवस्थामा भन्दा खुट्टाको मांशपेशी केही उठेको, फुलेको तथा हातको औंलाको टुप्पाले ३० सेकेण्ड जति खुट्टामा थिच्दा खाल्टो जस्तो परेको देखिन्छ भने खुट्टा सुन्निएको छ भने थाहा हुन्छ । खुट्टा सुन्निँदा हिँड्न, चल्न, जुत्ता लगाउन गार्हो हुने, अप्ठ्यारो हुनुका साथै एकदम पीडादायकसमेत हुन सक्छ ।

newss

विशेष गरेर जतातिर फर्केर सुत्ने गरिन्छ उतापट्टिको खुट्टा बढी सुन्निन सक्छ । सुत्ने वा बस्ने बेलामा केही कुराले थिचिएर खुट्टाको रक्तनलीमा जोर पुगेर समस्या देखा परेमा पनि खुट्टा सुन्निन सक्छ । रक्तनलीमा रगत जमेर रक्त सञ्चालन नभएको खण्डमा एउटा मात्रै खुट्टा पनि सुन्निने गरेको हुन्छ । बेला–बेला खुट्टा सुन्निने सामान्य कारणले गर्दा पनि हुन सक्छन् ।

तर, वीर अस्पतालका मुटु रोग विषेशज्ञ डा. हरिहर खनालका अनुसार खुट्टा सुनिने बितिकै जति सक्दो छिटो समस्याको पहिचान गरी निको पार्ने उपाय खोज्न आवश्यक रहेको बताउँछन् । कस्सेको जुत्ता लगाउँदा, दैनिक धेरै समयसम्म उभिनुपर्ने वा एउटै स्थानमा धेरै बेरसम्म बस्नु पर्ने वा खुट्टा झुण्डयाएर बस्ने गर्दा खुट्टा सुन्निनु सामान्य मानिन्छ । यस किसिमले सुन्निएको खुट्टाका लागि खासै पीर गर्नु पर्ने हुँदैन । यस अवस्थामा कुनै उपचारको जरुरी नहुने हुँदा एक–दुई दिन सम्ममा सुन्नेको खुट्टा आफैँ निको भएर जाने गर्छ ।

धेरै जसो मोटोपनाले सताएको मानिसलाई तथा गर्भवती महिलाहरूलाई पनि खुट्टा सुन्निने समस्या हुन सक्छ । रक्तचाप नियन्त्रण नभएका बेला र मृगौला तथा पिसाबसम्बन्धी रोगहरू लागेमा पनि खुट्टा सुन्निने रोगले सताउने गर्छ । मुटु कमजोर भएमा, मुटुसम्बन्धी रोग लागेमा, दम भएमा, फोक्सोसम्बन्धी रोगहरू भएमा, मृगौलाले काम नगर्दा, विभिन्न मृगौलासम्बन्धी रोग हुँदा वा थाइराइडको कमी, युरिक एसिड भएमा खुट्टा सुन्निने गर्छ । रक्तचाप नियन्त्रण गर्ने औषधि, पिसाबसम्बन्धी रोगको औषधिको सेवनले पनि खुट्टा सुन्निने गर्छ ।

औषधिका कारणले सुन्निएको खुट्टालाई निको पार्नका लागि डाक्टरको परामर्श लिएर उक्त औषधिको परिवर्तन गरेको १ वा २ हप्तामा घट्ने गर्छ । गर्मीको मौसममा भुइँमा सुत्ने गर्दा, धेरै पंखामा बस्ने गर्दा, अत्यधिक चिसो हुँदा पनि खुट्टा तथा शरीरका अन्य भागहरु सुन्निन सक्ने हुँदा एकदम सतर्क रहनु पर्छ । यदि, यस्तो समस्या उत्पन्न भएमा सकेसम्म बस्ने बेलामा खुट्टालाई नझुण्ड्याइकन टेबुलमा राख्ने गर्नुका साथै सुत्ने बेलामा खुुट्टालाई राम्रोसँग राखेर सुत्ने गर्नु पर्छ । यसबाट खुट्टा सुन्निएको कम हुनुका साथै यस्तो समस्या बारम्बार दोहोरिँदैन ।

एक–दुई दिनमा यो समस्याको समाधान नभएको खण्डमा वा खुट्टा सुन्निनुका साथै स्वाँस्वाँ, छाती दुख्नु, पेट पोल्नु, पिसाब कम हुने लक्षण देखा परेमा तुरुन्तै डाक्टरकहाँ जानु पर्ने हुन्छ । खुट्टा सुन्निनु शरीरमा भएका विभिन्न रोगहरूको एउटा लक्षण मात्र हो, जसले रोगलाई पहिचान गर्न मद्दत गर्छ । खास कुरा पत्ता लगाउन विभिन्न प्रकारका जाँच र उपचारको आवश्यकता पर्न सक्छ । यस्तो अवस्थामा मृगौला रोग विशेषज्ञ तथा मुटु रोग विशेषज्ञहरुकोमा जानु उचित हुन्छ ।

Loading...