fbpx

मल आपूर्ति नगराउने संस्थान खारेज गर्न माग

प्रदेशसभाको शून्य समयमा सांसदहरू

विराटनगर, २६ भदौ । प्रदेश सांसद बिमल कार्कीले कृषकलाई मल बिऊ आपूर्ति गर्न नसक्ने संस्थाहरू खारेज गर्न माग गरेका छन् । बुधबार प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै सांसद कार्कीले कृषकहरूलाई आवश्यक परेको समयमा कहिल्यै पनि मल पाउन नसक्ने अवस्था जहिल्यै पनि उस्तै रहिरहेकोले आपूर्ति गर्न नसक्ने कृषि सामग्री संस्थान खारेज गर्न माग गरेका हुन् ।

सांसद कार्कीले प्रदेशसभामा प्रश्न गरे, ‘जे कामका लागि स्थापना गरिएको हो त्यही काम गर्न सक्दैन भने सेतो हात्ती बनाएर संस्थानहरू किन पालिरहने ?’ उनले एक नम्बर प्रदेशमा ३० हजार मेटन मलको अवश्यकता भएको तर कृषि सामग्री संस्थान विराटनगरको गोदाममा ६ हजार मेटन मल मात्र आउँदै गरेकोले मलको चरम अभाव कायमै रहने बताए । उनले उदयपुरमा चाँडो पर्याप्त मल आपूर्ति गराइदिन सरकारसँग माग गरे ।

newss

सांसद पदमकुमारी गुरुङले कोशी राजमार्गअन्र्तगत तेह्रथुमको बसन्तपुरदेखि संखुवासभाको मुडे शनिश्चरे सडक नाम मात्रको कालोपत्रे गरिएकोले गुणस्तरीय कालोपत्रे गराउन माग गरिन् । उनले संखुवासभाको चैनपुर मलापोत कार्यालय द्वन्द्वकालीन अवस्थामा जलेकोले नापीका कागजपत्र हराएकोले पुनः नापी गराउन माग गरिन् । सांसद खिनु लङवा लिम्बूले जनता आवास कार्यक्रममा दलित र मुस्लिमबाहेक आदिबासी जनजाति र विपन्न गरिबलाई पनि समेट्न माग गरिन् । उनका अनुसार पहाडी जिल्लामा लक्षित समुदाय नभेटिँदा जनता आवास कार्यक्रमको बजेट फ्रिज हुने अवस्था सिर्जना भएको जानकारी गराइन् ।

सांसद सुनिता चौधरीले ५ असोजमा थारूहरूको जितिया पर्व पर्ने भएकोले सार्वजनिक बिदा दिन माग गरिन् । सांसद रामकुमार राईले पाइपलाइनबाट तेल ल्याउन सफल भएकोमा संघीय सरकारलाई धन्यवाद दिए । यसैगरी खोटाङको साप्सुखोलको पुल ३ महिनामै निर्माण गरेको भन्दै प्रदेश सरकारलाई पनि धन्यवाद भने ।

Loading...