fbpx

प्रधानमन्त्री ओलीको उपचार खर्च सार्वजनिक गर्न प्रदेश सांसदको माग

विराटनगर, २६ भदौ । एक नम्बर प्रदेशका प्रतिपक्षी सांसदले प्रधानमन्त्री केपी ओलीको उपचार खर्च सार्वजनिक गर्न माग गरेका छन् । बुधबार प्रदेशसभाको बैठकको शून्य समयमा बोल्दै मुख्य प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले प्रधानमन्त्री ओलीले सिंगापुरमा उपचार गराएको खर्च जान्न पाउने नागरिकको हक भएकोले सार्वजनिक गर्न माग गरेका हुन् ।

सांसद कार्कीले प्रदेशसभामा भने, ‘प्रम ओलीको स्वास्थ्य लाभको कामना गर्दछु तर उहाँको उपचार कुन आर्थिक स्रोतबाट भएको त्यो जान्न पाउने अधिकार नागरिकलाई छ, यसैले के कति र कहाँबाट खर्च भयो त्यो सार्वजनिक होस् ।’

सांसद कार्कीले प्रम ओली सिंगापुरमा उपचार गराइरहँदा धेरै ठेकेदारहरू पैसाको मुठो बोकेर अस्पतालको बिल तिर्न पुगेको जानकारी आफूहरूले पाएकोले उपचार खर्चको स्रोत प्रष्ट खोलिनुपर्ने उनले माग गरे ।

newss

यसैगरी सांसद कार्कीले बिनाप्रमाण संसदमा सरकारका बेथिती र बिसंगतिबारे नबोल्न मुख्यमन्त्री राईले सांसदहरुलाई आग्रह गरेको भन्दै आपत्ति जनाए । शून्य समयमा बोल्दै उनले भने, ‘प्रदेशसभा जनप्रतिनिधिहरूले जनताका लागि गुनासो राख्न पाउने थलो हो र सांसदहरूले बोलेको कुरालाई रेकर्ड गरेर प्रमाण जुटाएर कारवाही गर्ने काम सरकारको हो, यसैले बिनाप्रमाण बोल्नु हुँदैन भन्ने भनाइको म खण्डन गर्दछु ।’

सांसद कार्कीले सरकारले सुशासन र भ्रष्टाचार अन्त्यका कुरा गरे पनि मन्त्रालय र कार्यालयहरूमा खुला रूपमा भ्रष्टाचार भैरहेको आरोप लागाए । उनले भने, ‘सामाजिक विकास मन्त्रालयमा सचिवले विज्ञापनमा पनि कमिसन माग्ने गरेका छन्, झापाको कृषि ज्ञान केन्द्रले गौरादहमा गरेको लगानीको के अवस्था छ अनि मुख्यमन्त्री कप र क्रिक्रेट मैदान बनाउँदा भएको अनियमितताबारे सरकारले जवाफ दिनुपर्छ की पदैन ?’

२२ भदौमा प्रदेशसभा बैठकको विषेश समयमा बोल्दै मुख्यमन्त्री राई प्रदेशसभामा केही सांसदहरूप्रति लक्षित गर्दै निकै आक्रोशित रूपमा भ्रष्टाचारको अन्त, सुशासन र संघीयता कार्यान्वयनबारे विशेष समयमा एक घण्टा बोलेका थिए । उनले प्रदेश सरकार सफल भए मात्र संघीयता सफल हुने भएकोले सबै सांसदहरूलाई जिम्मेवार हुन आग्रह गरेका थिए ।

प्रदेशसभा बैठकमा काम प्रभावकारी नहुँदा लोगो फुकालेर हिँड्नुपर्ने दिन आयो भनेर सरकारको आलोचना गर्ने आफ्नै दलका सांसदहरूलाई कटाक्ष गर्दै मुख्यमन्त्री राईले स्पष्टिकरण माग गरेका थिए उनले भनेका थिए, ‘के कति र कसका कारणले लोगो फुकालेर, मुख छोपेर, मास्क लगाएर हिँड्नुपर्ने अवस्था आयो ? सबै खुलाएर तथ्यसहित सभामुखमार्फत् जानकारी गराउनका लागि म अनुरोध गर्छु ।’

Loading...