fbpx

वार्ताको वातावरण बनाउने चीनको प्रयास, चीनले गर्याे केही केही अमेरिकी सामानमा कर छुट

बेइजिङ २५ भदौ । चीनले अमेरिकासँग चाँडै गर्न लागेको व्यापार वार्ताअघि १६ किसिमका अमेरिकी सामानमा लगाएको करमा छुट दिने भएको छ । दुबै देशबीच अर्को महिना व्यापार वार्ता हुँदैछ ।

कर छुट आगामी सेप्टेम्बर १७ देखि लागू हुने चीनको भन्सार आयोगले जनाएको छ । छुट हुने वस्तुको सूचीमा सामुद्रिक खाद्य सामग्रीहरु र क्यान्सर प्रतिरोधी औषधिहरु रहेका छन् । कर छुट एक वर्षसम्म कायम हुनेछ । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सर्वाधिक चासोका रुपमा रहेको अमेरिकी सोयाबिन र सुँगुरको मासुको आयातमा चीनले लगाएको कर भने यथावत छ । भन्सार विभागले बुधबार जारी गरेको विज्ञप्तिमा अरु अमेरिकी सामानमा कर छुट गर्दै जाने उल्लेख छ ।

newss

दुबै देशबीच एक वर्षभन्दा बढी समयदेखि जारी व्यापार वार्तामा सहमति नभएपछि दुबै मुलुकले एकअर्काका सामानमा करवृद्धि गरेका छन् । विश्व व्यापार र विश्व अर्थतन्त्रमै प्रभाव हुने गरि भएको व्यापार युद्धले विश्व बजारमा त्रास सिर्जना गरेको छ । चीनसँग व्यापार सम्झौता हुन नसकेपछि राष्ट्रपति ट्रम्पले गतसाता सन् २०१९ को अन्त्यसम्ममा सबै चिनियाँ सामानमा कर वृद्धि गर्ने घोषणा गरेका छन् । अमेरिका निकासी हुने कूल ५ सय ४० अर्ब बराबरका चिनियाँ सामानमा यसै वर्षको अन्त्यसम्ममा कर वृद्धि हुनेछ ।

ट्रम्पको घोषणापछि बेइजिङले पनि अमेरिकी सामानमा कर वृद्धि गरेको थियो । सेप्टेम्बर १ देखि लागू हुनेगरी चीनले ७५ अर्ब अमेरिकी डलर बराबरका अमेरिकी सामानमा कर बढाउने घोषणा गरेको थियो ।

सयौं अमेरिकी कम्पनी र व्यावसायिक समूहहरुले नयाँ कर घोषणा नगर्न राष्ट्रपति ट्रम्पसमक्ष आग्रह गरेका थिए । कर वृद्धिले रोजगारी गुम्ने र उपभोक्ताले खरीद गर्ने सामान महंगो हुने भन्दै चिन्ता व्यक्त गरेका थिए ।

चिनियाँ सामानमा कर वृद्धि गर्ने मिति सार्न गरिएको आग्रहलाई बेवास्ता गर्दै राष्ट्रपति ट्रम्पले कर वृद्धिसँगै चीनसँग वार्ता पनि हुँदै जाने बताएका छन् । “हामीले चीनसँग कुराकानी गरिरहेका छौं । वार्ताका लागि मिति तोकिएको छ । एक अर्काबीच फोनमा संवाद भएका छन् । मेरो विचारमा सेप्टेम्बरमा वार्ता हुनेछ । वार्ता रद्द भएका छैनन् । हेरौं के हुन्छ” उनले भने ।

Loading...