fbpx

कुकुरले टोक्दा तीन हरिण मरे

झापा २५ भदौ । झापाको मेचीनगर नगरपालिका–११ को बाँसबारी सामुदायिक वनले पालेका तीन वटा हरिण भुस्याह कुकुरले टोक्दा मरेका छन् । एउटा घाइते भएको छ ।

बुधबार बिहान वनले तारजालीले घेरा हालेर पालेको स्थानमा चार वटा भुस्याहा कुकुर पसेर हरिणलाई टोकेर मारेको बाँसबारी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष शम्भु राजवंशीले बताए । कुकुरको टोकाइबाट मरेका हरिणमध्ये दुई वटा पोथी र एउटा भाले रहेको डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले बताए ।

newss

भेटेरेनरी अस्पताल तथा पशु सेवा कार्यालय झापाका डा. सञ्जय ढुङ्गाना र डा. गणेश भट्टराई लगायतको टोलीले मृत हरिणको ‘पोस्टमार्टम’ गरेका छन् । ‘पोस्टमार्टम’पछि तीनवटै हरिणलाई वन कार्यालयको परिसरभित्रै डिभिजन कार्यालय झापाका टोली, वन समितिका पदाधिकारी, स्थानीय र पत्रकारको रोहबरमा गाडिएको छ ।

बिहान ६ बजेतिर हरिण कराउन थालेपछि वनका कर्मचारी घटनास्थल पुगेका थिए । कर्मचारी पुगेलगत्तै कुकुर भागेको अध्यक्ष राजवंशीले बताए । ११ वर्षदेखि वनले हरिणलगायत अन्य जीवजन्तु पाल्न थालेको अध्यक्ष राजवंशीले बताए । वनमा पाँच वटा पोथी हरिण र तीन वटा भाले हरिण रहेका थिए ।

Loading...