fbpx

मेस्सीले ला लिगाको अर्को एउटा खेल पनि गुमाउने

एजेन्सी, २५ भदौ । स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले ला लिगाअन्तर्गतको अर्को एउटा खेल पनि गुमाउने भएका छन् । नयाँ सिजनको ला लिगाको सुरुआत अगाडि नै घाइते हुन पुगेका ३२ वर्षीय मेस्सीले भ्यालेन्सियाविरुद्धको खेल गुमाउने अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन् ।

केही समयअघि पिँडुलामा चोट बोकेका उनले यो सिजनको ला लिगामा डेब्यूसमेत गर्न पाएका छैनन् । पूर्णरूपमा ठीक नभएपछि उनी बार्सिलोनाको प्रशिक्षणमा पनि फर्किन नसकेको स्पेनिस मिडियाहरूको दाबी छ । उनी गत अगस्ट ५ मा प्रि–सिजनको अभ्यास खेलमा घाइते हुन पुगेका थिए ।

newss

उनीबिनाको बार्सिलोनाले ३ खेल खेलिसकेको छ । ला लिगाको साबिकको विजेता बार्सिलोनाले मेस्सी बिनाको ३ खेलमध्ये एक खेलमा जित, एक खेलमा बराबरी र एक खेलमा हार ब्यहोरेको छ । अब, बार्सिलोनाले अझै एउटा खेल मेस्सीबिनै खेल्नु पर्नेछ । स्पेनिस मिडिया ‘स्पोर्ट्स’का अनुसार मेस्सीले भ्यालेन्सियाविरुद्धको खेल गुमाउने पक्का छ । आफू पूर्णरूपमा फिट नभइसकेका कारण उनले जोखिम मोल्न नचाहेको खबरमा उल्लेख गरिएको छ ।

बार्सिलोनाले आउँदो शनिबार हुने आफ्नो चौथो खेलमा भ्यालेन्सियासँग खेल्दैछ । बार्सिलोनाले उक्त खेलमा भ्यालेन्सियालाई आफ्नै मैदानमा आतिथ्यता दिँदैछ । त्यसपछि बार्सिलोनाले च्याम्पियन्स लिगको समूह चरणको खेल खेल्नेछ । युरोपियन च्याम्पियन्स लिगको समूह ‘एफ’मा रहेको बार्सिलोनाले समूह चरणको पहिलो खेलमा जर्मन क्लब बोरुसिया डर्टुमण्डसँग खेल्नेछ । अबको एक सातापछि हुने यस खेलमा भने मेस्सी फर्किन सक्ने जनाइएको छ ।

Loading...