fbpx

निगुरो खाँदा स्वास्थ्यमा पुग्ने फाइदाहरू यस्ता छन्

विराटनगर, २५ भदौ । मौसमी सागसब्जी भएको कारणले यतिबेला वन–जंगलमा प्रशस्त मात्रामा निगुरो पाइन्छ । निगुरोलाई रोप्न पर्दैन । यो वन–जंगलमा आफैँ फाल्ने हुन्छ । पहाड र तराई सबैतिरको जंगलमा निगुरो पाइन्छ ।

कतिपयले जंगलबाट खोजेरै तरकारी खाने गर्छन् भने कतिपयले निगुरोलाई टिपेर पैसाको लागि बजारमा बेच्नेसमेत गरेको देखिन्छ । निगुरो यति बेलाको मौसममा पाइने पोषणयुक्त सागसब्जी हो । यसलाई अचार वा तरकारीका रूपमा र आलूसँग मिसाएर पनि खाने गरिन्छ ।

newss

वन–जंगलमा आफैँ उम्रने भएकाले निगुरोमा कुनै पनि रासयनिक मल वा विषादी प्रयोग गरिएको हुँदैन । व्यवसायिक ढंगले उत्पादन गरिएका सागसब्जीहरूमा रासयनिक मल, किटनासक औषधिको प्रयोग गरिन्छ । वन–जंगलमा आफैँ उम्रने भएकाले यो पूर्णतः जैविक खानेकुरा हो । पोषणविद्हरूले निगुरोमा मानव शरीरलाई चाहिने प्रशस्त मात्रामा प्रोटिन, क्याल्सियम, भिटामिन ‘ए’ लगायतका विभिन्न पोषक तत्त्वहरू पाइने बताउँदै आएका छन् । निगुरोको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ ।

निगुरोको तरकारी सेवन गरिहरहँदा भिटामिन प्राकृतिक रूपमै प्राप्त हुन्छ । निगुरोमा कोलेस्टेरोल र बोसोजन्य पदार्थको मात्रा एकदम न्यून हुनेगर्छ । जसकारण निउरोको सेवनले शरीरमा अनावश्यक बोसो जम्न नदिइ शरीरको तौल लिइ नियन्त्रण गर्न मद्दत गर्छ । प्रशस्त मात्रामा फाइबर पाइने भएकाले निगुरोको सेवनले पाचन प्रणालीलाई सक्रिय गरेर कब्जियत, अपच तथा पेटसम्बन्धी विभिन्न रोगलाई टाढा राख्न मद्दत गर्छ । निगुरो हरियो सागसब्जीमा पर्ने हुँदा यसमा पाइने भिटामिन ‘ए’ ले आँखालाई तेजिलो राख्न मद्दत गर्छ ।

यसको नियमित सेवनले शरीरको खराब कोलेस्टेरोललाई नियन्त्रणमा ल्याएर उक्त रक्तचाप, मधुमेह, तथा मुटुको रोगीहरूका लागि राहत दिने काम गर्छ । बालबालिकामा र गर्भवती महिलालाई भिटामिन र आइरनको धेरै मात्रा चाहिने भएकोले गर्दा अरुलाई भन्दा यिनीहरूलाई निगुरोले बढी फाइदा पुर्याउने देखिन्छ । निगुरोलाई नियमित सेवन गर्दा बालबालिका तथा गर्भवती महिलाहरूले अतिरिक्त भिटामिन र आइरनको चक्की खाइरहनु पर्दैन । तर, निउरो टिप्दा तथा पकाउँदा धेरै सावधानी अपनाउनु पर्ने हुन्छ ।

वन–जंगलमा सजिलै पाइने भएर यसलाई टिप्न जाँदा निकै सतर्कता अपनाउनु पर्ने देखिन्छ । निगुरो टिप्न जाँदा विषालु सर्प, किरा फट्यांग्रा तथा अन्य जनावरहरूबाट निकै सतर्क रहन आवश्यक देखिन्छ । निगुरो टिप्ने क्रममा निगुरोजस्तै देखिने घाँस पनि टिप्ने गरिन्छ । तर, निगुरो जस्तै देखिने सबै वनस्पति खानलायक हुँदैन भने धेरैजसो वनस्पति विषाक्त हुने गर्छ । यसलाई पकाउनुअघि पनि धेरै सतर्कता अपनाउनु पर्ने देखिन्छ । निगुरोलाई पकाउनुअघि राम्ररी केलाएर सफा पानीमा नुन राखेर मज्जाले धुनु पर्छ । नुनको प्रयोगले निगुरोमा भएको साना किरा फट्यांग्रालाई मर्ने काम गर्छ ।

Loading...