fbpx

‘इटालियन लिगमा रोनाल्डोभन्दा धेरै गोल लुकाकुले गर्छन्’

एजेन्सी, २५ भदौ । इटालियन क्लब इन्टर मिलानका पूर्वखेलाडी भान डर मेडीले हालै मात्र मिलान आएका रोमेलु लुकाकुले युभेन्टसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई सहजै हराउन सक्ने बताएका छन् । ‘जुभेनन्यूज डटइयू’सँगको कुराकानीमा ३९ वर्षीय डर मेडीले यस्तो बताएका हुन् ।

डच खेलाडी भान डर मेडीले इन्टर मिलानमा २ वर्ष बिताएका थिए । सन् २००३ देखि २००५ सम्म सिरी ‘ए’ खेलेका डर मेडीले इटालियन लिगमा रोनाल्डोभन्दा धेरै गोल लुकाकुले गर्ने बताएका छन् । हालै मात्र ‘जुभेनन्यूज डटइयू’सँगको अन्तर्वार्ताको क्रममा उनले भने, ‘लुकाकु इटालियन फुटबलको ठूला फ्यान हुन्, मेरो विचारमा उनी इटालियन लिगकै लागि बनेका हुन् ।’

newss

लुकाकु हालै मात्र इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडबाट इटाली आएका हुन् । क्लबको कीर्तिमानी रकममा इन्टरमा अनुबन्ध भएका उनले २ वटा लिग खेल खेल्दा २ गोल गरिसकेका छन् । अघिल्लो सिजन युनाइटेडबाट प्रिमियर लिग खेल्दा उनले १२ गोल गरेका थिए । यता, रोनाल्डोले भने सिरी ‘ए’ मा २ खेल खेल्दा १ गोल मात्र गरेका छन् ।

भान डर मेडी २६ वर्षीय लुकाकुले सिरी ‘ए’मा रोनाल्डोलाई पछि पार्नेमा विश्वस्त छन् । आयाक्स, इभर्टन र पीएसभीबाट पनि खेलिसकेका डर मेडीले भनेका छन्, ‘लुकाकु एक बलिया खेलाडी हुन्, जसले धेरै गोल गर्न सक्छन् । उनीसँग धेरै शक्तिशाली शरीर पनि छ र उनले इटालियन डिफेन्डरलाई सजिलै पछार्नेछन् ।’

यस्तै लुकाकुले रोनाल्डोलाई सजिलै जित्न सक्ने बताउँदै भने, ‘लुकाकुले रोनाल्डोलाई सहजै उछिन्नेछन् । लुकाकुलाई कसरी गोल गर्ने भन्ने कुरा सबै थाहा छ । उनी एक विशुद्ध सेन्टर–फरवार्ड हुन्, जहाँ रोनाल्डो धेरै जसो समय बाहिर खेल्छन् ।’

रियल मड्रिडबाट इटाली आएका रोनाल्डोले यस सिजनको सिरी ‘ए’ मा एक गोल गरिसकेका छन् । २ खेलमध्ये नापोलीविरुद्धको खेलमा उनले एक गोल गरेका हुन् । अघिल्लो सिजनको घरेलु लिगमा उनले २१ गोल गरेका थिए । उनले युभेन्टसलाई सिरी ‘ए’ र इटालियन सुपरकोपा इटालिया जिताउन अहम भूमिका खेलेका थिए ।

अब यस सिजनको सिरी ‘ए’ अझ रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ । किनकी, युभेन्टसले अहिले क्लबमा स्टार खेलाडीहरू भित्र्याएको छ भने इन्टरले लुकाकुलाई भित्र्याएको छ । र, यस सिजनको सिरी ‘ए’ कठिन भएता पनि उपाधि भने युभेन्टसले नै जित्ने भान डर मेडीको भनाइ छ । उनले भनेका छन्, ‘मेरो विचारमा यस पटकको उपाधि पनि युभेन्टसलाई नै जान्छ । उनीहरू सधैं इटालीमा उत्कृष्ट छन् । सबैभन्दा राम्रा खेलाडीहरू त्यही छन् ।’

Loading...