fbpx

आविष्कार केन्द्र राष्ट्रको अभियान हो, सबै नेपालीले अवसर पाउँछन्

aa
महावीर पुन

आविष्कार केन्द्र आऊ भनेर हामी सँधै सर्जकहरुलाई काठमाण्डौमा बोलाइरहन चाहँदैनौं, बरु हामी आवश्यकताअनुसार आविष्कार केन्द्र हरेक प्रदेशमा बनाउन चाहन्छौं । हिमाल, पहाड, तराई जहाँ आवश्यक पर्छ त्यतैतिर । अनुसन्धानमा सहभागीहरुलाई हामीले आविष्कार केन्द्रको तर्फबाट जुन सहयोग गर्न सकिन्छ त्यसमा केही कन्जुस्याईं गरेका छैनौं ।

इनोभेसनमा, आविष्कारमा, अनुसन्धानमा सहयोग गर्ने भन्ने जुन कुरा छ त्यो कुनै सरकारले अनुदान दिएको वा कुनै एनजिओ, आइएनजिओले कसैलाई कुनै रूपले सहयोग गरेको जस्तो अनुदान होइन । अनुसन्धानमा दिने भनेको कि त पूर्ण रूपमा सहयोग दिनुपर्छ कि चाहिँ दिँदै दिनु हुँदैन । किनभने अलिकति अनुदान दियो भने त्यो अलिकति दिएको अनुदानले अलिकति काम हुन्छ, अनुसन्धान गर्दै गयो बीचमा अड्किन्छ । त्यसपछि पैसा भएनभने त्यो ठप्प हुन्छ । अनि त्यो पहिला खर्च गरेको पैसाको पनि केही अर्थ रहँदैन । त्यसकारणले पूर्ण अनुदान (अनुदान भन्दैनौँ हामी सहयोग भन्छौं) दिनुपर्छ ।

जब आविष्कार केन्द्रले पूर्ण सहयोग पाउँछ त्यो सहयोग, केन्द्रमा अनुसन्धानका लागि आएका आइडियाहरुमा आवश्यकताअनुसार खर्च हुन्छ । बालबालिकाहरुले पनि आइडिया ल्याउलान्, अलिकति पढेलेखेकाले पनि आइडिया ल्याउलान्, काम गर्ने ज्यामी–मिस्त्रीहरुले पनि विभिन्न किसिमका आइडियाहरु ल्याउलान्, किसानहरुको पनि आइडिया आउला । उनीहरुले ल्याएको आइडियाहरुलाई परीक्षण गरेर अनुसन्धान गरेर (उनीहरुले गर्ने हो, हामीले गर्ने होइन) परीक्षण गरेर त्यसलाई कमर्सियलाइज्ड गर्ने, व्यापार गर्ने किसिमको जुनकाम छ त्यो काममा राष्ट्रिय आविष्कार केन्द्रले पूर्ण रूपमा सहयोग गर्छ । अविष्कार अनुदान दिए जस्तो होइन । यो कार्यक्रमलाई यति अनुदान दिने भन्ने हुँदैन, जसरी सरकारी निकाय वा अरु संस्थालाई अनुदान दिइन्छ । आविष्कार केन्द्रलाई आवश्यक पर्ने सबै व्यवस्था गर्नुपर्छ ता कि उसले चाहिँ ढुक्क भएर काम गर्न सकोस् ।

आविष्कार केन्द्रबारे सबै जनताले थाहा पाएकै छैनन्

आम जनतालाई आविष्कार केन्द्र के हो भनेर अझै थाहा छैन । यसैले मिडियाले अझै जनताहरुलाई बुझाउन सहयोग गर्नुपर्छ । हामी पनि जोडतोडले लागिपरिरहेका छौं । छोटकरीमा आविष्कार केन्द्र भनेको विज्ञान र टेक्नोलोजीको कामहरु गर्ने केन्द्र मात्र होइन । आविष्कार केन्द्र भनेको कुनै स्कुल अथवा कलेज पनि होइन । यो एकदमै प्रतिभाशाली, सृजनशिल, नयाँ–नयाँ आइडियाहरु सोच्न सक्ने र गर्न चाहने, कुनै चिज बनाउन चाहने प्रतिभा भएका मान्छेहरुको लागि एउटा प्लेटफर्म हो । प्लेटफर्ममा उनीहरुलाई ल्याएर पूर्ण रूपमा स्वागत गरिन्छ ।

पहिलो कुरा त प्लेटफर्ममा ल्याएपछि भाषण सुनाएर पठाउने हैन । उनीहरु के गर्न चाहन्छन्, आइडिया कस्तो छ भनेर परीक्षण हुन्छ । त्यो आइडिया राम्रो भएको खण्डमा आविष्कारका लागि सहयोग गर्छौं । जसले देशको आर्थिक स्थितिमा सहयोग गर्छ । देशमा बढी रोजगारी सिर्जना गर्ने खालको आइडियामा बढी फोकस हुन्छौं । कुनै पनि विषयलाई अनुसन्धान गरेर अगाडि बढाउँदा त्यसले देशको आर्थिक विकासमा कत्तिको सहयोग पुर्याउँछ, कत्तिको रोजगारीको सिर्जना गर्छ र आविष्कार गर्ने मान्छे उद्यमी बन्छ कि बन्दैन त्यो कुरालाई चाहिँ हामी फोकस गर्छौैं । त्यस्तो किसिमको सम्भावना भएको आइडिया लिएर आउनेहरुलाई हामीले पूर्ण रुपमा सहयोग गर्छाैं । कुनै कन्जुस्याईँ हुँदैन ।

आइडिया ल्याउनुहोस्, पैसाको चिन्ता नगर्नुहोस्

योङ्ग मान्छेहरुलाई म के भनिरहेको छु भने आइडिया लगाउनुहोस्, काम गर्नुहोस्, पैसा अथवा रिसोर्सको लागि चिन्ता नलिनुहोस् । रिसोर्सको लागि पैसा कहाँबाट ल्याउने भनेर चिन्ता लिन थाल्यो भने अनुसन्धान गर्ने मान्छेले केही पनि गर्न सक्दैन । रिर्सोस जुटाउने जिम्मा हाम्रो भयो । जसरी हुन्छ, जहाँबाट हुन्छ हामी खोजेर तपाईंहरुलाई सहयोग गर्छाैं । अनुसन्धान गर्दै जाँदा, तपाईंले गरेको अनुसन्धान सफल भयो भने त्यसलाई हामीले कमर्सियलाइज्ड गर्नका लागि अवसर पैदा गर्दिन्छौं ।

त्यसको मतलब अनुसन्धान त भयो, अनुसन्धान भएपछि त्यसलाई कसैले इन्भेस्ट गर्नुपर्यो । मानाैं न कसैले केही चिज बनायो अब त्यसलाई प्रदर्शनमा मात्र राख्न त भएन, त्यसलाई कमर्सियलाइज्ड गर्नका लागि लगानीकर्ताहरु खोजिदिन र उनीहरुलाई उद्यमी बनाउन सहयोग गर्छौँ। यसो भयो भने देशको आर्थिक स्थिति बलियो हुन्छ । आविष्कार केन्द्रको मुख्य उद्देश्य पनि अनुसन्धान र आविष्कारबाट देशको आर्थिक स्तिथिलाई दह्रो बनाउने हो । आविष्कार तथा अनुसन्धान गर्ने प्रतिभाशाली सन्ततिहरुलाई उद्यमी बनाउने, रोजगारी सिर्जना गर्ने हो र समग्रमा आविष्कार केन्द्र भनेको यही हो ।

अनुसन्धानको विषय प्रष्ट हुनुपर्छ

कृषिमा अनुसन्धान गर्ने कि जडिबुटीमा, रकेटमा अनुसन्धान गर्ने कि पानीजहाजमा ? विषय प्रष्ट हुनुपर्छ । नयाँ आलु उत्पादन गर्ने कि ५० केजीको फर्सी उत्पादन गर्ने ? ठ्याक्क आउनुपर्छ । आविष्कार केन्द्रले सकेको सहयोग गर्छ । तर, आविष्कार कुन क्षेत्रमा गर्ने हो त्यो प्रष्ट हुनुपर्छ । कृषिमा, इन्जिनियरिङमा, स्वास्थ्यमा केमा हो ? अनुसन्धान कुनै एक विषयमा मात्र सीमित हुँदैन । सबै क्षेत्रलाई खुल्ला छ । कसैले स्पेसिफिक कामको लागि– जस्तैः कृषिको लागि भनेर कृषिको मात्रै) अनुसन्धान केन्द्र खोल्ला त्यो बेग्लै कुरा हो । व्यक्तिगत रूपमा कसैले मेकानिकल विषयमा केही बनाउँ भनेर, कसैले स्वास्थ्यको फिल्डमा केही गरौं भनेर, कसैले जडिबुटीको फिल्डमा केही गरौं भनेर गर्लान् । छुट्टा–छुट्टैमा क्षेत्रमा आफ्नो मनले चाहेको फिल्डमा छुट्टा–छुट्टै कामहरु कसै कसैले गर्लान् । तर, यो राष्ट्रिय आविष्कार केन्द्र त राष्ट्रको अभियान हो, एउटा विषयको लागि मात्र होइन । यो राष्ट्रिय अभियानमा चाहिँ हामीले सबै विषयलाई हामीले समावेश गर्नुपर्छ ।

काठमाण्डौं धाइरहनु पर्दैन फेसबुकमा मेसेज लेखे पुग्छ

विभिन्न किसिमको प्रतिभा भएका सृजनशील मान्छे जता–ततै छरिएर बसेका हुन्छन् । उनीहरुलाई कमसेकम राष्ट्रिय आविष्कार केन्द्रले सहयोग गर्छ भनेर थाहा दिनुपर्छ । थाहा भएमा कसैले काठमाण्डौ धाइरहनु पर्दैन फोन गरे भइहाल्छ । फेसबुक म्यासेन्जरमा लेखे पनि हुन्छ । अर्को कसैले पनि यस्तो मान्छे यहाँ छ भनेर हामीलाई सम्पर्क गराइदिनोस्, हामी कुरा गर्छौं । उदाहरणको लागि कृषिको बारेमा चितवनमा कृषि तथा वनविश्वविद्यालयका विद्यार्थीहरू अनुसन्धान गरिरहेका छन् तर उनीहरुले गरिरहेको अनुसन्धान नयाँ हो कि होइन, हामी खुट्याउँछौं, मन पर्यो भने र नयाँ लाग्यो भने हामी अवसर दिन्छौं ।

धमाधम भैरहेका छन् आविष्कार केन्द्रमा अनुसन्धान

हामीले प्राउन (झिङ्गे माछा) लाई कमर्सियल रूपमा नेपालमा कसरी विकास गर्न सकिन्छ भनेर थाइल्याण्डबाट झिङ्गे माछाको बीउलाई ल्याएर ह्याचरी बनाएर त्यसको परीक्षण गर्न खोजिरहेका छौं । हिमालमा पाइने पाँचऔंले भन्ने एउटा जडिबुटी हुन्छ यो महंगो जडिबुटीको खेती गर्न सकिन्छ कि भनेर परीक्षण गर्छु, रिसर्च गर्छु भनेर गरिरहेका छौं । बायोमेडिकल इन्जिनियरहरुले गाउँघरमा हेल्थपोस्टहरुमा प्रयोग हुने किसिमको स्वास्थ्यमा बनाउन सकिने इकुप्मेण्टहरु विकास गर्नको लागि प्रयास गरिरहेका छन् । एक दुईवटा बनाई पनि सकेका छन् । इलेक्ट्रिकल विषयमा गाउँघरमा बाँदर धपाउने मेसिन बनाएर त्यसलाई परीक्षण पनि गरिरहेका छन् ।

यस्तै ड्रोन बनाएर दुर्गम ठाउँहरुमा, या वरिपरिको गाउँ–जिल्लामा बिरामी भएको बेलामा एम्बुलेन्स बोलाएर या अस्पतालमा ल्याएर उपचार गर्न सकिन्छ । बाटो नपुगेको ठाउँमा जहाँ औषधि छैन, इमर्जेन्सीको बेलामा औषधि पुर्याउनका लागि ड्रोन बनाएर औषधि पुर्याइदिने कामहरु पनि गर्न सकिन्छ । कोहीले बेट्रीले चल्ने तीन पाङ्ग्रे रिक्सा बनाइरहेका छन् । केही इन्जिनियरहरुले २० वर्षभन्दा पनि पुरानो गाडीलाई ब्याट्री र मोटर जोडेर त्यसलाई फेरि चलाउने भन्ने किसिमको कोशिश पनि गरिरहेका छन् ।

अनुसन्धानमा विषयको सीमितता छैन

हामीले गर्ने आविष्कारहरु हरेक खालका आउन सक्छन् । शिक्षाको लागि भनेर अब गाउँगाउँमा यो विद्यालयमा शैक्षिक सामाग्रीहरु शिक्षा कसरी पढाउने, के गर्ने भन्ने कुरादेखि शैक्षिक सामाग्रीहरुको पनि अनुसन्धान हुन सक्छ । आविष्कार केन्द्रमा सोसल, इन्जिनियरिङ एग्रिचल्चर सबै विषयमा रिर्सच हुन्छ । रिसर्च गरेर त्यसबाट आएको नतिजाले समाजलाई ठूलो प्रभाव पार्नुपर्छ । भोलि कसैले म्युजिकमा रिसर्च गरेर नयाँ किसिमको म्युजिकल इन्स्ट्रुमेन्ट बनाउँछु अथवा नयाँ किसिमको धुन क्रियट गर्छु र यसलाई बेचेर उद्यमी बन्छु भन्छ भने त्यो पनि हुन्छ । हामीले आविष्कारमा विषय सीमित राखेका छैनौं । यो कुरा धेरै मान्छेले मन पराएका छैनन् । तर, मन नपराएर के गर्ने एउटा–दुईटा कुरामा मात्र सीमित राख्न पनि हामी सक्दैनाैँ । मानौं हामी एग्रीकल्चर र इन्जिनियरिङमा मात्रै सीमित भयौं र अरुमा चाहिँ नगरौ भनेर छुट्ट्यायाैँ भने के हुन्छ ? त्यो दुईटा क्षेत्रले मात्र मौका पायो अरुलाई केही पनि छैन । उनीहरुलाई त भेदभाव भयो नि, हो त्यो भेदभाव नगर्ने भनेर चाहिँ हामी अगाडि बढेका हौँ ।

अनुसन्धानमा उमेरको हदबन्दी पनि छैन

आविष्कार केन्द्रको लागि सुविधा पाउने अथवा सहयोग गर्नका लागि उमेरको केहीहद छैन अनि शैक्षिक योग्यता पनि चाहिँदैन । किनभने, सानो भर्खर पढ्ने बालबालिकामा पनि नयाँ आविष्कार गर्ने आइडियाहरु आउन सक्छ । बुढोलाई पनि आउन सक्छ । कृषकलाई पनि आउन सक्छ । ज्यामीलाई पनि आउन सक्छ । हैन त्यस्तो ज्यामी योग्यताहरुमा शैक्षिक योग्यता छैन भनेर उनीहरुलाई चाहिँ नदिने भनेर हुँदैन । आइडिया इनोभेसन, आविष्कार भन्ने कुरामा शैक्षिक योग्यता र उमेरको हदबन्दी भन्ने हुँदैन ।

(राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन म्यागासेसे पुरस्कार विजेता वैज्ञानिक हुन्)

Loading...