fbpx

विराटनगरमा कोसेली महोत्सव हुँदै

अंकिता ताम्राकार
विराटनगर(रानी) , २५ भदौ । दशैको अवसरमा बिराटनगरमा कोसेली महोत्सव हुने भएको छ । १० देखि १४ असोजसम्म विराटनगर स्थित जैन भवनमा प्रदेश स्तरीय कोसेली महोत्सवको हुने भएको हो ।

उद्योग संगठन मोरङ, महिला उद्यम समिति र नेपाल युवा उद्यमी मञ्च, विराटनगर च्याप्टरको संयुक्त आयोजना हुन लागेको महोत्सवलाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय, प्रदेश नं १, विराटनगर महानगरपालिकाले सहयोग गरेकाे छ  । यसैगरि सेन्चुरी मसला मुख्य प्रायोजक र सिर्जना फाईनान्स सह प्रायोजक रहेको छ ।

महोत्वसलाई ‘कोसेली महोत्सव मेड इन नेपाल २०७४’ नाम दिइएको छ । ‘राष्ट्रको आर्थिक बृद्धिमा सहयोग गरौ‌ं, स्वदेशी उत्पादनको प्रयोग गरौं’ भन्ने मूल नारासहित आयोजना हुने उक्त्त मेलको उद्देश्य, नेपाली उद्यमी महिलाहरुले उत्पादन गरेका बस्तुहरुको बेचबिखन र प्रर्दशन गराउनु रहेको महोत्सव आयोजक समितिका संयोजक मनोजविक्रम शाहले जानकारी दिए ।

महिला उद्यम समितिले यसअघि पनि कोसेली मेला आयोजना गरेको थियो । तर यसपालीको महोत्सव केही फरक उदेश्य र बिशेष आकर्षणका साथ आयोजना हुने महिला उद्यमी सन्तोष जैनले बताइन् । यो पटकको मेलामा महिला उद्यमीहरुको सहभागीता अधिक रहनेछ ।

घरेलु उद्योगबाट उत्पादित वस्तुको व्यापार, नया उत्पादन वारे जानकारी, उत्पादित बस्तुलाई बजार पहुच, उत्पादक र उपभोक्ता वीच सम्वन्ध विस्तार, कृषि, औद्योगिक तथा पर्यटन क्षेत्रको विकास, अर्ग्यानिक वस्तुको उत्पादन र उपभोगमा जोड दिँदै महिला तथा युवाहरुमा उद्यमशिलता विकासमा मेलाले सघाउ पुर्याउने आयोजकको आपेक्षा छ ।

महोत्सवमा हस्तकलासामग्री, सिलाई कटाईका वस्त्र, जुत्ता चप्पल, ढाका तथा उनीका न्यानो कपडा, अर्गेनिक खाद्य बस्तु , शृंगार साधन, सूचना प्रविधि र घरायसी सामग्रीहरु साथै विभिन्न किसिमका खानाका परिकारहरु राखिने छन् । महोत्सवमा हेर्न २० रुपैया प्रबेश शुल्क लाग्नेछ । बिद्यार्थीले ५० प्रतिशत छुट पाउने छन् ।

Loading...