fbpx

युरो कप छनौट : इंग्ल्याण्डको विजयी यात्रा कायमै

विराटनगर, २५ भदौ । सन् २०२० को युरो कप छनौट खेलअन्तर्गत इंग्ल्याण्डले जित निकालेको छ । सोमबार राति भएको खेलमा इंग्ल्याण्डले कोसोभोविरुद्ध ५–३ गोल अन्तरको जित दर्ता गरेको हो ।

आफ्नै मैदानमा भएको उक्त खेलमा इंग्ल्याण्डलाई जिताउन जाडोन सान्चोले २ तथा रहिम स्टर्लिङ, ह्यारी केनले एक–एक गोल गर्दा एउटा आत्मघाती गोल उपहारमा पाएको थियो । यता, पराजित टोली कोसोभोका लागि भिलोन बेरिशाले २ तथा वेदात मुरिक्कीले १ गोल गरेका थिए ।

newss

खेलमा कोसोभाले सुरुआती अग्रता बनाएको थियो । खेलको सुरुआतमै बेरिशाले गोल गरेपछि उसले सुरुआती अग्रता बनायो । तर, खेलको आठौं मिनेटमा स्टर्लिङले गोल गर्दै खेल बराबरीमा फर्काए । यस्तै खेलको १९औं मिनेटमा ह्यारी केनले गोल गरेपछि इंग्ल्याण्डले अग्रता बनाउन थाल्यो । खेलको ३८औं मिनेटमा कोसोभोका मर्जिम भोज्भोडाले आफ्नै पोष्टमा गोल गरेपछि इंग्ल्याण्डले ३–१ गोलको अग्रता बनायो ।

यसैगरी खेलको ४४औं मिनेटमा इंग्ल्याण्डका सान्चोले गोल गर्दै घरेलु टोलीलाई ४–१ गोलको अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा सान्चोले पाहुना टोलीविरुद्ध अर्को गोल थप्दै ५–१ गोलको फराकिलो अग्रता दिलाए ।

दोस्रो हाफमा कोसोभोले २ गोल गर्यो । उसका लागि खेलको ४९औं मिनेटमा बेरिशाले गोल गरे भने खेलको ५५औं मिनेटमा मुरिक्कीले पेनाल्टीमा गोल गरे । र, बाँकी समयमा दुवै टोलीबाट गोल हुन नसक्दा इंग्ल्याण्डले ५–३ गोलको जित दर्ता गरेको हो ।

यस जितसँगै इंग्ल्याण्डले विजयी यात्रा कायमै राखेको छ । उसले ४ खेलबाट १२ अंक जोडेको छ । यता, पराजित टोली कोसोभो भने ८ अंकसहित तेस्रो स्थानमा छ ।

Loading...