fbpx

निर्वाचनपूर्व इजरायली प्रधानमन्त्री नेतन्याहु रूस भ्रमण गर्ने

जेरूसेलम २४ भदौ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आगामी साता रूसको भ्रमण गर्ने भएका छन् । उनको रूस भ्रमण सेप्टेम्बर १७ मा हुने निर्वाचनमा आफ्नो नेतृत्वका लागि रूसी समर्थन लिन हुन लागेको इजरायली विश्लेषकहरूले बताएका छन् ।

नेतन्याहु रूसको सोचीतर्फ आगामी बिहीबार जाने कार्यक्रम तय भएको र त्यहाँ रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्ने अपेक्षा गरिएको छ । निर्वाचन आउन केही हप्ता बाँकी रहँदा रूस भ्रमण गरेर आफ्नो पक्षमा निर्वाचन परिणाम ल्याउने उद्देश्य राखेको हुन सक्ने इजरायली सञ्चारमाध्यमहरूले जनाएका छन् ।

newss

निर्वाचन परिणाम आफ्नो पक्षमा पार्ने र अर्को पटकसमेत इजरायललाई नेतृत्व गर्ने सोचमा रहेका नेतन्याहुले इजरायली इतिहासमा सवैभन्दा लामो समय प्रधानमन्त्रीका रूपमा काम गरिसकेका छन् । आफ्ना प्रतिस्पर्धी राष्ट्रवादी इजरायल बेटेनु पार्टीका अभिडोर लिवरम्यानको प्रभाव क्षेत्र रहेको मानिने पूर्व सोभियत संघबाट इजरायल आई बसोबास गरेका मतदातालाई प्रभावित पार्न रूसको भ्रमण गर्न लागेको स्थानीय सञ्चारमाध्यमहरूले बताएका छन् ।

नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रूसी राष्ट्रपति पुटिन साथै विश्व नेताहरूसँग आफ्नो असल सम्बन्ध रहेको र इजरायललाई आफ्नो आवश्यकता रहेको देखाउन खोजेका छन् ।

प्रधानमन्त्री नेतन्याहुले रूसी राष्ट्रपतिसँग सिरियामा इरानका गतिविधिबारे छलफल गर्ने र इजरायल तथा रूसबीचको सम्बन्ध विस्तारका लागि हुने बताएका उनको कार्यालयले जनाएको छ । इजरायलले इरानी हेजवुल्ला समूहलाई लक्षित गरी सिरियामा सयौँ हवाई आक्रमण गरिसकेको र सिरियामा इरानी उपस्थितिविरूद्ध सङ्घर्षरत रहेको बताउँदै आएको छ ।

Loading...