fbpx

एशिया कपमा नेपालको सान्त्वना जित, यूएई पराजित

विराटनगर, २४ भदौ । श्रीलंकामा जारी एसीसी यू–१९ एशिया कप क्रिकेटअन्तर्गत मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई हराएको छ । श्रीलंकाको कटुनायक स्टेडियममा भएको उक्त खेलमा नेपालले यूएईलाई १ सय ६० रनले पराजित गर्दैसान्त्वना जित निकालेको हो ।

newss
ADVT

नेपालले दिएको २ सय ८६ रनको फराकिलो लक्ष्य पछ्याएको युएई ३४ ओभर ४ बलमा अलआउट हुँदै १ सय २५ रनमा समेटियो । त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ५० ओभर पूरै खेल्दै ९ विकेटको क्षतिमा २ सय ८५ रनको योगफल बनायो ।

टस हारेर पहिले ब्याटिङ्को निम्तो पाएको नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ६७ रनको योगदान दिए । ५३ बल खेलेका उनले ६ चौकाको मद्दतमा ६७ रन बनाएका हुन् । त्यस्तै सन्दिप जोराले ४८ रन बनाउँदा आशिफ शेखले ४५, राशिद खानले ४४, कमल सिहले ४१ तथा कौशल मल्लले २२ रन जोडे । बलिङतर्फ आकाशा ताहिर र सञ्चित शर्माले तीन तीन विकेट लिए भने पलानीपान मैयाप्पानले दुई विकेट झारे । त्यस्तै रिसब मुखर्जीको नाममा एक विकेट रह्यो ।

समूह बी मा दुई खेल गुमाएको नेपाल यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको थियो । नेपाल पहिलो खेलमा श्रीलङ्कासँग पाँच विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा बङ्गलादेशसँग ६ विकेटले पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको हो । यस समूहबाट आयोजक श्रीलङ्का र बङ्गलादेश सेमिफाइनल पुगिसकेको छ ।

Loading...