fbpx

अलैँचीमा फेरि रोगको संक्रमण, उत्पादनमा ह्रास

इलाम, २४ भदौ । पूर्वी पहाडी क्षेत्रमा लगाइएको अलैँचीमा संक्रमण देखिएपछि कृषक चिन्तित बनेका छन् । अलैँचीबाट राम्रो आम्दानी लिइरहेको कृषक पछिल्लो समय बोट मर्न थालेपछि चिन्तित बनेका हुन् ।

केही वर्ष अघि पनि रोगका कारण अलैची खेतीबाट टाढिएका निसानले पून अलैँची खेती गरेका थिए । नयाँ जात र नयाँ ठाउँमा अलैँची रोपे पनि पुनः रोगले आक्रमण गर्न थालेपछि समस्या भएको रोङ गाउँपालिकास्थित तम्बाङका किसान गणेश राई बताउँछन् । उनका अनुसार अनुसार गत वर्षभन्दा यस वर्ष आधाभन्दा अलैँची कम फलेको छ । “जुर्जुरे, फिर्के, डढुवा नामक रोगका कारण अलैँची मर्न थालेको छ”, उनले भने, ‘गत वर्ष १० मन भएको बारीमा दुई मन मात्र उत्पादन भयो ।”

मकै र आलु बाली नै मासेर खेतबारीमै ठूलै रकम खर्चेर अलैँची लगाएका किसान मासिएपछि खेतीको विकल्प खोज्न थालेका छन् । किसानको एक्लो प्रयास र उचित अलैँचीसम्बन्धी ज्ञानसमेत नभएकाले अलैँचीबाट घाटा ब्यहोर्नुपरेको कृषक गोविन्द पौडेलको भनाइ छ । पौडेलले यस वर्ष अलैँची ह्वात्तै घटेको बताए ।

जिल्लाका सबै क्षेत्रमा अलैँचीमा रोग देखा परेको छ । कतिपय ठाउँमा पुरानै जुर्जुरे, स्याङ्लेजस्ता रोगले अलैँची मासिँदै छ भने कतिपय ठाउँमा भने अलैँचीको गानो कुइने समस्याले सताएको छ ।

अलैँची रोपाइँमा नै समस्या भएकाले राम्रो उत्पादन दिन नसकेको र कम समयमै मासिने गरेको कृषि विज्ञ योगेन्द्रमान श्रेष्ठको भनाइ छ । उनका अनुसार पछिल्लो समय बारीमा अलैँची लगाउने गरेको र पानी बढी हुने हुनाले अलैँची मासिने गरेको छ ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्याङ्कमा नेपालबाट विदेश निर्यात हुने वस्तुको सूचीमा अलैँची दोस्रो स्थानमा छ । नेपालबाट वर्षेनी साढे चार अर्बको अलैँची विदेश निर्यात भइरहेको केन्द्रको तथ्याङ्क छ । केन्द्रका अनुसार सन् २०१७ मा नेपालबाट ७६ लाख ६० हजार ६७७ किलो अलैँची निकासी भएको छ । जसबाट चार अर्ब ५० करोड ६३ लाख ४६ हजार आम्दानी भएको थियाे । कृषि मन्त्रालयका अनुसार देशको १७ हजार दुई हेक्टरमा अलैँचीखेती भइरहेकामा १२ हजार आठ हेक्टरबाट उत्पादन भइरहेको छ । रासस

Loading...