fbpx

तालिबानसँग वार्ता पुनः शुरु हुनेः अमेरिकी विदेशमन्त्री माइक

वासिङ्टन २३ भदौ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिका र अफगानिस्तानका विद्रोही तालिबान समूहसँग भविष्यमा पुनः वार्ता शुरु हुने विश्वास व्यक्त गरे ।

अमेरिकी टेलिभिजन फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा विदेशमन्त्री पोम्पेओले गत बिहीबार अफगानिस्तानमा तालिबानको कारबम आक्रमणका कारण एक अमेरिकी सैनिकको मृत्यु भएपछि वार्तापनि मरेसरह भएको बताए । तर उनले भने “मलाई विश्वास छ चाँडै वार्ता पुनः शुरु हुनेछ ।” उनले वार्ताका क्रममा तालिबान समूहले देखाएको लचकता व्यवहारमा नदेखिएको गुनासो गरे ।

news
ADVT

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत शनिबार अफगान विद्रोही तालिबान र अफगान सरकारका प्रतिनिधिसँग अमेरिकाको क्याम्प डेभिडमा आयोजना गर्न लागेको गोप्य बैठक एकपक्षीय रुपमा रद्द गरिसकेका छन् । राष्ट्रपति ट्रम्पले तालिबानले गरेको कारबम आक्रमणबाट काबुलमा एक जना अमेरिकी सैनिक समेत १२ जनाको मृत्यु भएपछि वार्ता रद्द गरेका थिए । शनिबार ट्वीट गर्दै उनले अफगानी विद्रोही समूह तालिबानसँगको शान्ति प्रक्रिया पनि स्थगन गरिएको घोषणा गरेका हुन् ।

आतंकवादी संगठन अल–कायदाले सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा गरेको भिषण आक्रमणको वार्षिक स्मृति दिवसको पूर्वसन्ध्यामा यो कार्यक्रम आयोजना हुन लागेको थियो ।

एएफपीका अनुसार अमेरिकामा आक्रमणलगत्तै अल–कायदाका नेता ओशामा बिन लादेन लुकेर बसेको अफगानिस्तानमा अमेरिकाले आक्रमण गरी तत्कालीन तालिबानी सरकारलाई अपदस्थ गरेको थियो । अल–कायदा र तालिबान विरुद्ध सन् २००२ यता भएका कारबाहीका क्रममा अफगानिस्तानमा दुई हजार ४ सय भन्दा बढी अमेरिकी सैनिकको मृत्यु भएको छ ।

वार्ता रद्द गरेको घोषणापछि राष्ट्रपति ट्रम्पले अफगानिस्तानबाट तत्काल पाँच हजार सैनिक कटौती गर्ने प्रस्ताव पनि अन्यौलमा परेको छ । हाल अफगानिस्तानमा १३ देखि १४ हजार अमेरिकी सैनिक तैनाथ छन् । १८ वर्ष अफगानिस्तानमा रहेको अमेरिकी सेनाले अफगानी सेनालाई तालिम, सल्लाह र हवाई सुरक्षामा सहयोग गर्दै आएको छ ।

अफगान मामिलासम्बन्धी अमेरिकी विशेषदूत जाल्मे खलिलजादले हालै मात्र तालिबान समूहसँगको वार्ता अन्तिम चरणमा पुगेको बताएका थिए । तर राष्ट्रपति ट्रम्पमाथि अफगान सरकार र केही अमेरिकी सांसदहरुले अमेरिकी सैनिक तत्काल फिर्ता गर्न नहुने भन्दै दबाब दिइरहेका छन्। तालिबान समूहले अमेरिकाले वार्ता स्थगित गरेमा त्यसबाट अमेरिकालाई नै बढी क्षति हुने चेतावनी दिएको छ ।

Loading...