fbpx

महिलालाई बढी टाउको दुख्ने कारण के ?

विराटनगर, २३ भदौ । सामान्यत गर्दनदेखि माथि टाउकोको कुनै पनि भागमा दुखाइ महसूस हुन थालेको छ भने त्यसलाई टाउको दुखेको भनिने गरिन्छ । टाउको दुखाइ आजकल सामान्य समस्या बनिसकेको छ । टाउको दुखाइ मन्द, अलिकति पीडादायी, तथा एकदम पीडा दिने खालको हुनसक्छ ।

टाउको दुखाइ टाउकाको एकापट्टि, दुवैपट्टि, अगाडि वा पछाडिको भागमा एक–एक गरी वा एकपल्टमा सबै ठाउँमा पीडा हुन सक्छ । टाउको दुख्नु आफैंमा रोग नभएर शारीरिक समस्या वा रोगको कारण हुन सक्छ । डा.अनुस्मृति पालका अनुसार मेडिकल भाषामा प्राथमिक कारण र अन्य कारणले टाउको दुख्ने गर्छ । टाउको सबैलाई दुख्ने गर्छ तर, पुरुषहरूको तुलनामा महिलाहरूमा टाउको दुख्ने समस्या बढी हुने गरेको पाइएको छ ।

news

घर, कार्यालय तथा बच्चा जन्माउनेलगायत महिलाले पाउने एकसाथ धेरै जिम्मेवारीका कारण वा शरीरमा उत्पन्न हुने हर्मोनका कारण महिलाहरूको बढी टाउको दुख्ने हुन सक्ने अनुमान लगाउन सकिन्छ । तर, यति मात्रै नभएर महिलाहरूको टाउको दुख्ने कारण आरु पनि धेरै रहेका छन् ।

माइग्रेनबाट हुने टाउको दुखाइ, तनावबाट हुने टाउको दुखाइ र टाउकाको एकातिर एक्कासी सुरु हुने दुखाइलाई प्राथमिक कारणका रूपमा लिन सकिन्छ । महिलाहरूमा टाउको दुख्ने मुख्य कारण भनेको शरीरमा उत्पन्न हुने हर्मोनको मात्रामा असन्तुलन हुनु हो । हर्मोनका कारण हृदयको गति धेरै तेज भएर धेरै पसिना आउने गर्छ र यस कारण पनि महिलाहरूलाई टाउको दुख्ने हुन्छ ।

त्यस्तै, धेरै घाममा हिँड्दा, पानी कम पिउँदा, शरीरमा पानीको मात्रा कम हुँदा, भोक लाग्दा, चिन्ता हुदा, ज्वरो आउँदा, रुघा खोकी तथा पिनास भएको बेला टाउको दुख्ने गर्छ । अर्को प्रकारको टाउको दुखाइ कुनै रोगको कारणबाट हुने गर्छ जसले मस्तिष्क वा धमनीमा समस्या पैदा गरेर टाउको दुखेको अनुभूति गराउँछ ।

अत्याधिक औषधि सेवनबाट हुने साइड इफेक्टले पनि टाउको दुखाइ हुने गर्छ । साथै, धेरै घरको काम, अफिसको कामको प्रेसर, महिनावारी भएको बेलामा, धेरै समय ल्यापटप र मोबाइलको प्रयोग, घन्टौँसम्म फोनमा कुरा गर्दा, पाचन प्रणाली सही नहुँदा, एलर्जीका कारण, आँखाको समस्या हुँदा, माइग्रेनको कारणले, ग्यास्ट्रिकका कारणले, उच्च रक्तचापका कारणले, निन्द्रा नपुगेमा, डिप्रेसनका कारणले टाउको दुख्ने समस्या उत्पन्न हुन सक्छ ।

यदि, कुनै कुराको बोझ महसूस भइरहेको छ वा केही कुराले निकै सोचमा पारेको छ भने टाउको दुख्ने हुन्छ । निरन्तर टाउको दुख्ने समस्याले सताएको छ भने पछि गएर ब्रेनमा पानी जम्ने, ट्युमर पलाउने, रगत जम्ने सम्भावना उमेर अनुसार बढ्दै जान सक्छ । उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टेरोल भएका बिरामीले टाउको दुखाइमा विशेष सावधानी अपनाउनु पर्ने हुन्छ ।

टाउको दुख्यो भन्दैमा दुखाइ कम गर्ने औषधिको आफूखुशी प्रयोग गर्नु हुँदैन । औषधिको बढी सेवन गर्नाले टाउको दुखाइ केही समयको लागि कम भए पनि फेरि बल्झिन सक्ने हुँदा डाक्टरहरूको सल्लाह लिएर र परीक्षण गरेपछि मात्र औषधिको सेवन गर्नु पर्छ ।

Loading...