fbpx

पछिल्लो समय पार्टीका नेताहरू आत्मकेन्द्रित र व्यक्तिकेन्द्रित भए : प्रचण्ड

काठमाडौं, २३ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समयमा पार्टीका नेताहरू अलि बढी आत्मकेन्द्रित र व्यक्तिकेन्द्रित हुँदै गएको बताएका छन् । पार्टीको केन्द्रीय कार्यालयद्वारा सोमबार पार्टी कार्यालयमा आयोजित शहीद सुरेश वाग्ले ‘वासु’ को २१औँ स्मृतिसभामा पूर्वप्रधानमन्त्री तथा अध्यक्ष ‘प्रचण्ड’ले यस्तो बताएका हुन् ।

पछिल्लो समयमा पार्टीका नेताहरू अलि बढी आत्मकेन्द्रित र व्यक्तिकेन्द्रित हुँदै गएको बताउँदै उनले पार्टीलाई सबैले स्वीकार गर्ने पार्टीका रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिए । सबैलाई स्वीकार हुने गरी जनताको सेवामा समर्पित पार्टी बनाउनेतर्फ केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिँदै उनले भने, ‘ पछिल्लो समयमा पार्टीका नेताहरू अलि बढी आत्मकेन्द्रित र व्यक्तिकेन्द्रित हुँदै गएका छन् तर, हामीले सबैलाई स्वीकार हुने गरी जनताको सेवामा समर्पित पार्टी बनाउनेतर्फ केन्द्रित हुन जरुरी छ ।’

उनले थपे, ‘हामीले कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय बनाएका छौँ, लोकप्रिय मत पाएका छौँ, बहुमतको सरकार छ, तर वैचारिक र नैतिक चरित्रका दृष्टिले खस्किएका छौँ, जनताको आवश्यकताभन्दा पनि हाम्रो आवश्यकतालाई महत्व दिएका छौँ ।’

अध्यक्ष ‘प्रचण्ड’ले पार्टीलाई जनतामा समर्पित गर्न सकेको खण्डमा मात्र शहीदकोे वास्तविक सपनामा पूरा हुने बताए । उनले भने, ‘कमरेड वासु वैचारिक, बलिदान, बौद्धिक र निष्ठा र चरित्रको हिसाबले अत्यन्त उच्च तहमा हुनुहुन्थ्यो, उहाँबाट हामीले पनि सिक्नुपर्ने हुन्छ ।’

Loading...