fbpx

तीनवटा बहुवर्षीय आयोजनाको भ्रष्टाचार आफैं अनुसन्धान गर्दैै प्रदेश १ का मुख्यमन्त्री (अडियोसहित)

भ्रष्टाचार अन्त्य र सुशासनका लागि प्रदेश सभामा गर्जिए एक नम्बर प्रदेशका मुख्यमन्त्री

विराटनगर, २३ भदौ । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले सांसदहरूकै मिलेमतोमा तीनवटा बहुवर्षीय निर्माण आयोजनामा भ्रष्टाचार भएको घटना अनुसन्धान गर्न आफू बाध्य भएको बताएका छन् ।

आइतबार एक नम्बर प्रदेशसभाको विशेष समयमा सम्बोधन गर्दै मुख्यमन्त्री राईले ५० पचास करोड लगानीका तीन वटा बहुवर्षे निर्माण आयोजनामा भ्रष्टाचार भएको सूचना पाएकोले आफूले अध्ययन गरिरहेको बताएका हुन् ।

news

उनले तीनवटै आयोजनाको फाइल आफ्नो टेबलमा मगाइसकेको र सम्बन्धित भौतिक विकास र आर्थिक योजना मन्त्रालयसँग सोधपुछ गर्ने काम भइरहेको सांसदहरूलाई बैठकमा जानकारी गराए । उनले भने, “कस्को भागमा के कति पर्छ भनेर दश किलोमिटर धुले ट्र्याक खोल्न टेण्डर आव्हान गरिसकेका रहेछन्, ठेकेदारले घरघर पुगेर भागमा लागेको कमिसन पनि पुर्याइसकेछन्, यसैले मैले सूचना पाएपछि अनुसन्धान थालेको हुँ, दोषीलाई कुनै हालतमा छाड्ने छैन ।”

भ्रष्टाचार र कुशासनमा कसैले उन्मुक्ति नपाउने

मुख्यमन्त्री राईले आफ्नो नेतृत्त्वको सरकारले सुशासन कायम गराउन र भ्रष्टाचार अन्तका लागि शून्य सहनशिलता अपनाएकोले कसैले पनि उन्मुक्ति पाउन नसक्ने बताए । गलत गर्नेहरूलाई आफूले कारवाही गर्न थालिसकेको बताउँदै उनले भ्रष्टाचार, अनियमितता र सुशासनबारे सबै सांसद, मन्त्री र कर्मचारीहरूलाई जिम्मेवार हुन आग्रह गर्दै चेतावनी दिए, “के हुनलागेको हो यो सब ? यसैले मैले अनियमिता र भ्रष्टाचार गर्नेहरूलाई एक घण्टाभित्र कारवाही गराउन आफ्नो हटलाइन नम्बर सार्वजनिक गराएको हुँ ।”

मुख्यमन्त्री राईले पारदर्शी नभएको भन्ने गुनासो आएपछि प्रदेश सरकार मातहतको कृषि, भूमि तथा सहकारी मन्त्रालयले आव्हान गरेको टेण्डर र सूचनाहरू रद्द गर्न निर्देशन दिएको प्रदेश सभामा जानकारी गराए । कृषि मन्त्रालयले अनुदान कार्यक्रम वितरण गर्दा कार्यविधि पारदर्शी नबनाएको सांसदहरूले गुनासो गरेका थिए । मुख्यमन्त्री राईले संसदको विषयत समिति, विज्ञ र कर्मचारीहरूसँग बसेर बृहत्त छलफल गरेर मात्र नयाँ कार्यविधि कार्यान्वयन गराउने बताए ।

लोगो नफुकाल्न भन्दै सांसदहरूप्रति आक्रोश

प्रदेशसभामा केही सांसदहरूप्रति निकै आक्रोशित रूपमा प्रस्तुत भएका मुख्यमन्त्री राईले भ्रष्टाचारको अन्त, सुशासन र संघीयता कार्यान्वयनबारे विशेष समयमा एक घण्टा बोलेका थिए । उनले प्रदेश सरकार सफल भएमात्र संघीयता सफल हुने भएकोले सबै सांसदहरूलाई जिम्मेवार हुन आग्रह पनि गरे । काम प्रभावकारी नहुँदा लोगो फुकालेर हिँड्नुपर्ने दिन आयो भनेर सरकारको आलोचना गर्ने आफ्नै दलका सांसदहरूलाई कटाक्ष गर्दै मुख्यमन्त्री राईले स्पष्टीकरण माग गरे, “के कति र कसका कारणले लोगो फुकालेर, मुख छोपेर, मास्क लगाएर हिँड्नुपर्ने अवस्था आयो, सबै खुलाएर तथ्यसहित सभामुखमार्फत् जानकारी गराउनका लागि म अनुरोध गर्छु ।”

मन्त्री राईले मुख छोपेर लोगो फुकालेर लुसुक्क सदनमा आएर लुसुक्क भत्ता थापेर जाँदैैमा जिम्मेवारी पूरा हुँदैन भन्दै ऐतिहासिक जिम्मेवारी पूरा गर्न सांसदहरू पनि जिम्मेवार हुनुपर्ने बताए । उनले भ्रष्टाचार ढिलासुस्ती र अनियमिताबारे सदनमा कुरा उठ्नु जायज हो भन्दै अझै सक्रिय रूपले सरकारको कामको निगरानी गर्न सांसदहरूलाई आग्रह पनि गरे ।

केन्द्रको हैन प्रदेशको क्यालेन्डर अनुसार काम गर्न निर्देशन

मुख्यमन्त्री राईले बजेट पास गरेर महिनौं सुत्ने र अन्तमा हतार–हतार बजेट सक्ने, कमिसन खाने र काम अलपत्र छोड्ने केन्द्रिय मानसिकता प्रदेशमा अन्त भएको भन्दै आगामी १ जेठभित्रै सबै बजेट कार्यान्वनय भैसक्ने दाबी गरे । उनले कागजमा प्रगति देखाएर मात्र नहुने भएकोले उपलव्धि फिल्डमै देखिने गरी काम गरेमात्र प्रगति मापन गर्ने बताए । मन्त्री राईले प्रवृत्ति, सँस्कृति र व्यवहारमा कायम रहेको पुरानो मानसिकता हटाउन भन्दै कर्मचारीहरूलाई भने, “नयाँ संविधान र संघीयता कार्यान्वयन गराउने मानसिकता बनाउनुहोस् केन्द्रको पुरानो क्यालेन्डर एक नम्बर प्रदेश सरकारले परिवर्तन गरिसक्यो ।”

सरकारले चाँडै पूर्णता पाउने

मन्त्री राईले चाँडै प्रदेश सरकारले लगानी सम्मेलन गर्न लागेको, प्रदेशभरिका सरकारी जमीन खोजबिन गरेर लगानीका लागि प्रदान गर्न लागेको, सांसदहरूलाई जनतासँग प्रत्यक्ष जोड्ने कार्यक्रम ल्याउन लागेको, प्रदेशभरिका विद्यालयहरूमा डिजिटल लिटरेसी र अनलाइन शिक्षण कार्यक्रम सुरुआत गराउन थालेको, नेपाल भ्रमण वर्ष सफल बनाउन संघीय सरकारको सहयोगमा प्रदेशमा हिमाल आरोहीहरूलाई बोलाएर पर्यटन–दूत घोषणा गर्न लागेको र चाँडै अपूरो सरकारलाई पूर्णता दिन लागेको संसदको बैठकमा जानकारी पनि गराए ।

Loading...