fbpx

दिनमा ९ घण्टा भन्दा बढी बसेर काम गर्दा घट्न सक्छ आयु !

विराटनगर २३ भदौ । तपाई दिनमा ९ घण्टा भन्दा बढी समय कार्यालय वा काममा बसेर विताउनु हुन्छ भने स्वास्थ्यकोलागि खतरा मोल्दै हुनुहुन्छ । यतिसम्म खतरा कि चाडै मृत्युको खतरासम्म रहन्छ । यो रिसर्च बेलायतको मेडिकल जर्नलमा प्रकाशित भएको छ । रिसर्चले साढे ९ घण्टा भन्दा बढी समय बसेर काम गर्दा मृत्युको खतरा त्यही अनुपातमा बढ्ने देखाएको छ ।

यदी सुताईको समयदेखि बाहे साढे ९ घण्टा भन्दा बढी एक दिनमा बस्ने बानीले चाडै मृत्यु हुन सक्ने मेडिकल जर्नलमा प्रकाशित खोजमा उल्लेख छ । नर्वेको ओस्लोमा नर्वेजियन स्कुल अफ स्पोर्ट्स साइन्सेजले गरेको अध्ययनले यस्तो निश्कर्ष निकालेको हो । अध्ययनमा ३६ हजार ३ सय ८३ जना सहभागीहरुलाई करिब ६ वर्षसम्म अनुसन्धान गर्दा यस्तो नतिजा आएको हो ।

अध्ययन गरिएकाहरुको उमेर औषतमा ६२.६ वर्षको थियो । उनीहरुको दैनिक गतिविधि एक्सेलोमीटर ( दैनिक गतिविधि र त्यसको प्रभाव नाप्ने उपकरण)को माध्यमबाट अध्ययन गरिएको थियो । अध्ययनकै समयमा २ हजार १ सय ४९ जनाको मृत्यु भएको थियो । डाक्टरहरुले दिनभर बसेर बिताउनेहरुको पुरै शरीरमा असर गर्ने बताउँछन् । लामो समयसम्म बसेर काम गर्दा वा समय विताउने दिनचर्या भए शरीरमा धेरै खालका समस्या आउने गर्छ । मेटाबालिज्म रेट कम हुने र शरीरमा मधुमेह, ब्लड प्रेसर, कोलेस्ट्रोल बढ्ने र मुटु रोगको सम्भावना अधिक हुन्छ । अनि हृदयघातको सम्भावना पनि बढ्छ ।

अनि कम्प्युटर र टिभीको अगाडि बसेर काम गर्दा आँखा कमजोर हुने र लामो समयसम्म घाममा ननिस्किदाँ भिटामिन डीको कमी हुन सक्छ । जसले गर्दा हड्डि कमजोर हुने समस्या देखिन्छ । दिनमा ३ सय मिनेट अर्थात ५ घण्टा हल्का शारीरिक व्यायाम हुने काम गर्नु स्वास्थ्यको दृष्टिकोणले फाइदाजनक छ । २४ मिनेट मध्यम गतिको शारीरिक कसरत गर्दा चाडै मृत्यु हुने सम्भावना कम हुन्छ ।

विश्व स्वास्थ्य संगठनले १८ वर्षदेखि ६४ वर्षसम्मका व्यक्तिलाई हप्तामा कम्तिमा १ सय ५० मिनेट सम्म शारीरिक व्यायाम गर्न वा ७५ मिनेट कडा शारीरिक व्यायाम गर्न सुझाव दिएको छ । फिटनेस विशेषज्ञहरुले धेरै व्यायमहरु कुर्सीमै बसेर गर्न सकिने वा थोरै समय तथा स्थानमा पनि गर्न सकिने रहेको बताएकाछन् ।

Loading...