fbpx

वेगनलाल आधाभूत विद्यालयका विद्यार्थी भन्छन्, ‘स्कुल छुट्टी नगर्नु न सर !’ (भिडियोसहित)

यज्ञ अधिकारी
रङ्गेली, २२ भदौ । विद्यालय वातावरणमैत्री नहुँदा दलित समुदायका वालाबालिकाहरूले बीचैमा पढाइ छाड्ने गर्दछन् । तर, मोरङको ग्रामथान गाउँपालिका १ मा रहेको वेगनलाल आधाभूत विद्यालय विद्यार्थीहरू चाँही बिदाको दिनमा पनि विद्यालय आइरहन रुचाउने गरेका छन् ।

पिछाडिएको दलित (ऋषिदेव) र सीमान्तकृत आदिबासी जनजाति समुदायका बालबालिकाहरू पढ्ने वेगनलालको वातावरण विद्यार्थीमैत्री भएको विद्यार्थीहरू बिदामा पनि विद्यालय आउन रुचाउने गरेका हुन् ।

news

वेगनलाल आधाभूत विद्यालयमा हाल मुसहर समुदायका १ सय ९१ जनासहित २ सय ९ छात्रा र १ सय ८७ जना छात्र पढिरहेका छन् । शिक्षकहरूका अनुसार पढिरहेका विद्यार्थीहरू कोही पनि बीचैमा पढाई छाडन चाहँदैनन् र विद्यालय आउन अटेर गरेर गयल पनि हुँदैनन् ।

शिक्षक र विद्यार्थीहरू पालो मिलाएर गर्छन् शौचालयको सरसफाइ

प्रधानाध्यापक कृष्णहरी घिमिरेका अनुसार विद्यार्थी मैत्रीपूर्ण वातावरण बनाउनका लागि निरन्तर उनीहरूका अविभावकसँग प्रत्येक महिना छलफल गर्ने गरिएको छ । विद्यालयले नर्सरी, यूकेजी र कक्षा १ का विद्यार्थीलाई निःशुल्क कपी, पेन्सिल वितरण गर्ने गरेको छ । अविभावकले नसकेको अवस्थामा एक–दुई दिनको लागि ठूला कक्षाका विद्यार्थीका पेन्सिल र कलम सहयोग गर्ने गर्दछ । विद्यालयल उपलब्ध १९ वटा कम्प्युटरको सहयोगले कक्षा ६, ७ र ८ का विद्यार्थीलाई कम्प्युटर विषय पढाउने गरेको छ ।

विद्यालयले वरिपरीको वातावरण पनि सफासुग्गर राख्ने गरेको छ । विद्यालयमा रहेको शौचालय शिक्षक र विद्यार्थीले पालो मिलाएर सरसफाइ गर्ने गरेका छन् । विद्यालयले विद्यार्थीहरूको लागि तालिका बनाएर विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने गरेको छ । जसले गर्दा विद्यार्थीहरू विद्यालयमा पूरा समय रमाउने गरका छन् । उनीहरू बिदाको दिनमा समेत विद्यालय आउन रुचाउछन् । प्रअ घिमिरेले भने, ‘कतिपय विद्यार्थीले त छुट्टी नगर्नु सर भन्दै आग्रह पनि गर्छन् ।

बालिकामैत्री शौचालय र आराम घरले सुबिधा

वेगनलालले बालिकाकामैत्री शौचालय निर्माण गरेको छ । महिनावारी हुँदा छात्राको लागि ‘प्याड’ पनि विद्यालयले निःशुल्क उपलब्ध गराउँदै आएको छ । जसले गर्दा छात्राहरू विद्यालय समयमै घर जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।

घरमा नपाइने प्याड विद्यालयमा पाउने भएपछि छात्राहरू नियमित विद्यालय आउने गरेका छन् । बिद्यालयमा विश्राम कक्षको पनि व्यवस्था छ । जहाँ टाउको तथा पेट दुखेको खण्डमा विद्यार्थीहरूले आराम गर्ने गर्दछन् । बिरामी विद्यार्थीहरूलाई प्राथमिक उपचारको लागि औषधिको व्यवस्था पनि गरिएको छ ।

प्रधानाध्यापक कृष्णहरिको प्रयास सह्रानीय

२०५१ सालमा प्रधानाध्यापक कृष्णहरी घिमिरे बेगनलाल निमाविमा आउँदा विद्यालयमा ५० जना मात्र विद्यार्थी थिए । वरिपरी रहेको सीमान्तकृत पिछडिएको आदिवासी जनजाति र दलित समुदायको ऋषिदेवहरूको बसोवास थियो ।

विद्यार्थीहरू विद्यालय आउनभन्दा खेल्न रमाउँथे । प्रअ घिमिरेले घरघरमा पुगेर छोराछोरी स्कुल पठाउन आमाबाबुलाई आग्रह गरे । सँगै विद्यालयको पठनपाठनको वातावरण पनि सुधार गर्दै लगे । पछि विद्यार्थीको संख्या पनि वृद्धि भयो र वातावरणमैत्री भएपछि बीचैमा छाड्ने क्रम रोकियो । प्रअ घिमिरे भन्छन्, ‘मेला,पर्व र चाडवाडको समयमा अझै पनि विद्यार्थीहरू नआउने समस्या चाँही चुनौती छ ।’

शिक्षक दरबन्दी, चुहिने भवन, बिजुली र खानेपानीको खर्च समस्या

विद्यार्थीको अनुपातमा बेगनलालमा शिक्षकको दरबन्दी कम भएको प्रअ घिमिरे बताउँछन् । उनका अनुसार हाल बेगनलालमा ९ स्थायी, ३ करार र १ निजी स्रोतबाट गरी जम्मा १२ जना मात्र शिक्षक छन् । सीमित आर्थिक स्रोत भएकोले विद्यालयलाई बिजुली र खानेपानीको व्ययभार धान्न पनि समस्या छ । विद्यार्थी संख्या धेरै भएको बेगनलाल निमाविमा पुरानो टिनको भवन चुहिने भएकोले नयाँ भवनको अभाव भएको छ ।

Loading...