fbpx

‘कबड्डी ३’ को डरले सुशीलको ‘लभ डायरिज’ छठ पर्वमा

 

विराटनगर २२ भदौ । फिल्म ‘लभ डायरिज’ को प्रदर्शन मितिमा फेरबदल गरि नयाँ प्रदर्शन मिति सार्वजनिक भएको छ । असोज ३ गते प्रदर्शन हुने भनिएपछि मिति सारेर छठको अवसर पारेर कार्तिक १५ लाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो । असोज ३ गते हिट फिल्म ‘कबड्डी’ तेस्रो सिरिज प्रदर्शनमा आउने भएपछि फिल्म नचल्ने डरले प्रदर्शन मितिलाई सारिएको हो ।

कात्तिक १५ मा पनि ‘लभ डायरिज’ ले सोलो रिलिजको अवसर भने पाउने सम्भावना छैन । यो मितिमा एक्सन सुपरस्टार विराज भट्ट निर्देशित, निर्मित तथा अभिनीत फिल्म ‘साङ्लो’ प्रदर्शनमा आउने भएको छ । तर, यो फिल्मको प्रचार प्रसारको लागि समय नपुगेको कारणले फिल्मको प्रदर्शन मिति पोस्टपोन्ड हुने सम्भावना प्रवल रहेको छ ।

‘लभ डायरिज’ का निर्देशक सौरभ चौधरीले कार्यक्रममा फिल्मको एक गीत सार्वजनिक गर्दै दशवटा फिल्म भिड्न आए पनि फिल्मको प्रदर्शन मितिलाई नसार्ने निर्यण भएको बताएका थिए । तर, ‘कबड्डी कबड्डी कबड्डी’ ले बक्सअफिसमा टिक्न नदिने देखिएपछि फिल्मको प्रदर्शन मिति सार्न बाध्य भएको हो ।

सौरभ चौधरीको निर्देशनमा तयार गरिएको फिल्ममा अभिनेता शुशील श्रेष्ठ र अभिनेत्री रुविना थापाका साथ विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारी लगायतका कलाकारहरुको अभिनय रहेको छ । ‘ईइस्टेर इन्टरटेनमेन्ट’को व्यानरमा निर्माण भएको फिल्ममा विनोद सापकोटाको निर्माण र सरोज तुलाधरको सहनिर्माण रहेको छ ।

सञ्जय लामाले छायांकन गरेको फिल्ममा साहिल खान र मिलन श्रेष्ठको सम्पादन,अर्जुन पोखरेलको संगीत र कविराज गहतराजको कोरियोग्राफी रहेको छ । माया प्रेम र कमेडीमा आधारित भएको फिल्ममा सुशीलले विदेशमा बसेर मोजमस्ति मात्र गर्ने केटाको भूमिका निर्वाह गरेका छन् । सुशीलले फिल्ममा फरक अवतर देखाउनका लागि दाह्री र कपाल समेत पालेका छन् ।

फिल्मको नामको अर्थ बुझाउँदै, ‘प्रेममा रहँदा विताएको एउटा अविस्मरणीय पललाई शब्दमा उतारिएको डायरीलाई लभ डायरीज भनिन्छ र फिल्मलाई राम्रो बनाउन आफूले कुनै पनि कसर बाँकी नराखेको फिल्मका निर्देशक चौधरीले बताएका छन् । फिल्म मनोरञ्जनात्मक मात्र नभएर सन्देशमुलक पनि रहेको कारण फिल्मलाई दर्शकले माया गर्ने देखिएको छ ।

Loading...