fbpx

गोरे मनपर्ने भएपनि ‘पोई पर्यो काले’ भन्दै पूजा (भिडियोसहित)

विराटनगर, २२ भदाै । फिल्म ‘पोइ पर्यो काले’ को शीर्ष गीत सार्वजनिक भएको छ । बालाजुमा रहेको चलचित्र विकास कम्पनीको स्टूडियोमा भब्य सेट बनाएर खिचिएको फिल्मको गीतलाई युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

गीतमा फिल्मका सबै मुख्य कलाकारहरुलाई स्थान दिइएको छ । गीतमा नृपेश उप्रेतीको शब्दलाई अर्जुन पोखरेलको संगीत सहित गायक रामचन्द्र काफ्ले र गायिका अन्जु पन्तले स्वर भरेका छन् । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोलाई शिव ढकालले छायांकन गरेका छन् ।

फिल्मलाई सफल बनाउनका लागि गीतले महत्वपूर्ण भूमिका खेल्ने भएको कारणले फिल्मको निर्माण टिमले मेहेनत गरेको छ । गीतको छायांकन गर्ने क्रममा केही तस्वीरहरु समेत सार्वजनिक गरिएको थियो ।

शिशिर राणाको निर्देशनमा तयार भएको फिल्ममा पूजा शर्मा, सौगात मल्ल, आकाश श्रेष्ठ, सृष्टि श्रेष्ठ, सोहित मानन्धर, राजाराम पौडेल, बिन्दा खतिवडा, जयनन्द लामा लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । गीतमा पूजा, सौगात र आकाश र सृष्टिलाई जोडीको रुपमा देखाइएको छ ।

सौगातकै वरिपरि मूल कथा घुम्ने फिल्ममा कसले कसको श्रीमान्–श्रीमतीको भूमिका निभाएको भन्ने कुरालाई जानकारी दिइएको छैन् । फिल्म हेरेपछि मात्र दर्शकले यसको जवाफ पाउने निर्देशक राणाले बताएका छन् ।  हिन्दुहरुको महान चाड तिहारको अवसर परेर फिल्म आउँदो कात्तिक ८ गते प्रदर्शनमा आउने भएको छ ।

Loading...