fbpx

चिन्ताको गहिरो रुप ‘डिप्रेशन’, यसका लक्षण र बच्ने उपाय

पढाई, भविष्य, पैसा, साथीभाई, शारीरिक रोग, परिवार, असफल प्रेमका कारणले दैनिक जीवनमा एक व्यक्तिले धेरै चिन्ता लिइरहेको हुन्छ । हरेक मानिसको जीवनमा चिन्ता हुनु स्वाभाविक नै हो । तर, जब चिन्तालाई व्यवस्थापन गर्न सक्दैनौं, त्यसले मानसिक रोगी समेत बनाउन सक्छ ।

चिन्ताको गहिरो रुप भनेको डिप्रेसन हो । अहिलेको समयमा मानिसलाई हुने रोगहरू मध्ये डिप्रेसन वा उदासिनता प्रमुख रोग हो । डिप्रेसन एउटा कडा रोग हो जसले पीडित व्यक्तिलाई मात्र नभएर उसको परिवार तथा समाजलाई समेत असर पुयाइ रहेको हुन्छ । यो रोग हरेक देश र समाजमा व्याप्त रुपमा फैलिएको छ ।

मानिसहरू आफ्नो जीवनमा कमसेकम एक पल्ट डिप्रेसनको शिकार भएको पाइन्छ । तर, मन उदास हुनुलाई मात्र डिप्रेसन भनिदैन । जीवनका हरेक आयामहरुलाई नकारात्मक दृष्टिकोणले सोच्न थाल्यौ भने डिप्रेसन हुने गर्छ । त्रि.वि. शिक्षण अस्पतालका मानसिक रोग विशेषज्ञ डा. सरोज ओझाका अनुसार डिप्रेसन भनेको एक प्रकारको मानसिक रोग हो । उक्त रोगले हाम्रो सोचाई, भावना तथा व्यवहारमा नकारात्मक असर गर्दछ ।

नेपालमा मात्र करिब ८ लाख नेपालीमा डिप्रेसनको समस्या रहेको चिकित्सकहरूले बताएका छन् ।

डिप्रेसन कडा मानसिक रोग नभए पनि समयमै रोग पहिचान र उपचार गरिएन भने डिप्रेसनको रोगीले आफुलाई चोट पुर्याउनुका साथ साथै आत्महत्या समेत गर्न सक्ने हुन्छन् । यो रोग जो कोही र जुन सुकै उमेरकालाई पनि लाग्न सक्ने भए पनि नेपालमा भने पुरुषभन्दा महिलामा डिप्रेसनको रोग बढी रहेको डा. सरोज ओझाले बताएका छन् । डिप्रेसन हुदा मन उदास वा दिक्क भइरहने, केहि पनि गर्न मन नलाग्ने, सुतिरहन मनलाग्ने, अध्यारोमा बस्न मनलाग्ने, कमजोरी वा थकावट महशुस भइरहने, खाना खान मन नलाग्ने, एकाग्रता तथा सोच्ने र सम्झने क्षमतामा कमी हुने, भविष्यप्रति नैराश्यता छाउने, खुसीहुन नसक्ने जस्ता लक्षण देखा पर्न थाल्छन् ।

साथै, निन्द्रा नलाग्ने वा निन्द्राले चाँडै छोड्ने, नराम्रो सपना देख्ने, सानो सानो कुरामा रिस उठ्नु, डर लागिरहनु, पागल हुनु, यौनइच्छामा कमी हुने, टाउको, पेट, छाती वा हातखुट्टा दुख्ने, अपच हुने, महिलाहरुमा महिनावारी नियमित नहुने, पटक पटक आत्महत्याको विचार आउने समेत हुन सक्छ । धेरै कडा डिप्रेसन भएको अवस्थामा हलचल नगरी बसी रहने, खाना खाँदै नखाने वा बोल्दै नबोल्ने पनि हुन सक्छ । केटाकेटीहरूलाई डिप्रेसन भएमा खाना नखाने, खेल्न नमान्ने, झगडा गर्ने, विद्यालय नजाने जस्ता लक्षण देखा पर्छन् ।

डिप्रेसन रोगलाई निको बनाउनका लागि समयमै रोग पहिचान गरी चिकित्सकबाट सल्लाह लिएर औषधि समेत सेवन गर्नुपर्ने हुन्छ । सुरुमा डिप्रेसनको कारण थाहा पाउने, रिस कम गर्नका लागि एक्लै चिच्याउने, धेरै एक्लै नबस्ने, हास्न सिक्ने, योग गर्नुका साथै नसाबाट जोगिने गर्नु पर्छ ।

डिप्रेसन रोगिहरुलाई सिर्जनात्मक कुरामा लगाउने गर्नु पर्छ । मुड अफ भएको बेला गीत सुन्ने, डान्स गर्ने, पेन्टिङ, गार्डेनमा समय बिताउने या केही आफुलाई मन पर्ने काम गर्नु पर्छ । यस्तो बेलामा आफ्नो विश्वासिलो र सहयोगी मित्रलाई आफ्नो कुरा सेयर गर्न सकिन्छ । मनको कुरा सेयर गरेमा मन हलुका हुने गर्छ ।

यस्तो समयमा आउने तनावलाई सकारात्मक रुपमा लिएर पयाप्त आराम र खानपानमा विषेश ध्यान दिनुपर्छ । आफूलाई आइपर्ने समस्यामा चिन्ता लिएर बस्नुभन्दा पनि समस्यालाई कसरी सामाधान गर्न सकिन्छ भन्ने सोच राख्नु पर्छ । साथै साथीभाई भेट्ने, रमाइलो गर्ने, मन पारेको ठाउँ घुम्न जाने, योग गर्ने, ध्यान गर्ने तथा सामाजिक कार्यमा सक्रिय हुनुपर्छ । मानसिक समस्या भएको संकेत देखिएमा तुरुन्तै चिकित्सक कहाँ गएर परामर्श लिनु आवश्यक देखिन्छ ।

Loading...