fbpx

‘लक्का जवान’ मा प्रहरी अफिसरको भूमिकामा वर्षा

विराटनगर, २२ भदौ । हाँस्यकलाकार शिवहरी पौडेलको निर्देशनमा हुँदै गरेको फिल्म ‘लक्का जवान’को काभ्रेमा धमाधम छायांकन भइरहेको छ । फिल्मको कथा र कलाकारको भूमिकालाई गोप्य राखिएको छ ।

यसबीच फिल्मकी मुख्य कलाकार अभिनेत्री वर्षा सिवाकोटीको लुक बाहिरिएको छ । उनले फिल्ममा प्रहरी अफिसरको भूमिका निर्वाह गर्दै छिन् । वर्षाले आफ्नो फेसबुक स्टोरीमा इन्स्पेक्टरको पोसाकमा रहेको एक तस्बिर सेयर गरेकी हुन् ।

aa

उनले आफ्नो कार्यकालमा पहिलोपटक प्रहरीको भूमिका निर्वाह गरेकी हुन् । उनको भूमिका बाहिरिए पनि उनको जोडी दिलीप हुन् वा सलोन भन्नेमा अहिलेसम्म निर्माण टिमले सार्वजनिक गरेको छैन । फिल्मको छायांकन ७० प्रतिशत काभ्रे र ३० प्रतिशत काठमाण्डौमा हुनेछ । फिल्ममा वर्षाका साथ शिवहरी पौडेल, निर्माता किरण केसी र दीलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत, राजाराम पौडेल, सुरेन्द्र केसी, सरोज खनाललगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ ।

लामो समय टेलिसिरियल निर्माणमा लागेका शिवहरिले आमा बंगालमुखी फिल्म प्रोडक्सन प्रा.लिको ब्यानरमा रहेर निर्माण हुने फिल्ममा पारिवारिक तथा कमेडी कथावस्तुलाई उठाउने र रियालिटी बेसमा कमेडी फिल्म बनाउने प्रयास गरेका छन् । बाबुल गिरीले संगीत भर्ने फिल्मका गीतमा कविराज गहतराजको कोरियोग्राफी रहने छ भने फिल्मलाई पुरुषोत्तम प्रधानले छायांकन गर्ने भएका छन् ।

निर्माण टिमले फिल्मलाई चैत्रको ७ गतेबाट रिलिज गर्ने पक्का गरेको छ । केही समय अगाडि प्रदर्शनमा आएको वर्षा अभिनित ‘वीर विक्रम–२’ले दर्शकको साथ पाउन सकेन । यो फिल्मको असफलतापछि उनले आफ्नो फिल्म छनौटमा सतर्कता अपनाएकी छन् । सोलो अभिनेत्रीको रूपमा सफलता हासिल गर्न नसके पनि कलाकारको ठूलो झुण्ड भएको फिल्मबाट वर्षा निकै आशावादी देखिन्छिन् ।

Loading...