fbpx

पत्रपत्रिकामा प्रदेशः संघ र प्रदेशसँग नगरहरु असन्तुष्ट

विराटनगर २२ भदौ । नागरिक पूर्वेलीमा मुख्य खबर संघ र प्रदेशसँग नगरहरु असन्तुष्ट शिर्षकमा छ । संविधानले दिएको अधिकार र कार्यालय स्थानीय तहलाई नै दिन माग गर्दै नेपाल नगरपालिका संघ १ नम्बर प्रदेशको दोश्रो सम्मेलन तथा प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले ११ बुँदे धरान घोषणापत्र समेत जारी गरेको छ ।

सनिबार सुनसरीको धरानमा सम्पन्न सम्मेलनले तीन तहबीच सहकार्य, समन्वय र सहकारीताबाट अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै शिक्षा क्षेत्रमा संविधानले दिए अनुसार स्थानीय तहलाई सबल र सक्षम बनाउन संघीय सरकारलाई अनुरोध गर्ने प्रस्ताब पारित गरेको छ । संविधानमा माध्यमिक शिक्षा स्थानीय तहलाई सञ्चालनको जिम्मेवारी भएपनि अधिकार प्रयोग गर्न पाएका छैनन् ।

न्यू सृष्टि दैनिकमा विराटनगरको बजार क्षेत्रका सटर भाडामा लाग्न छाडेको समाचार छ । विराटनगरको मेन रोड स्थित बजार क्षेत्रका सटर भाडामा लाग्न छोडेका छन् । बजार क्षेत्रका १ दर्जन बढी सटर १ वर्षयता भाडामा नलागेका हुन् । घरधनीले व्यवसायीक सटर भाडाकोलागि खाली रहेको वोर्ड झण्डाएपनि भाडा चर्काे भयो भनेर मोलतौल गर्दै फर्किने गरेको घरधनी राकेश रौनियारले बताए । पहिले १ लाख रुपैयाँ सम्म सटर भाडा भएपनि अहिले आधा घटाउदा समेत भाडामा नलागेको हो ।

विवाह उमेरको कारण समस्या शिर्षकमा जनविद्रोह दैनिकमा समाचार छ । प्रेम विवाह गर्नेलाई जबरजस्ती करणी मुद्धामा जेल बस्नु पर्ने बाध्यता छ । प्रेम विवाहपछि जन्मिएका शिशु तथा आमा अझै बढी पिडित हुने गरेको सरोकारवालाहरुले बताएकाछन् । विराटनगरमा सनिबार सञ्चारिका समूहले आयोजना गरेको बालविवाहको बदलिदो स्वरुप तथा नीतिगत समस्या विषयक अन्तरक्रियामा सहभागीहरुले मुलुकी संहिताको कारण कतिपय जटिलता उत्पन्न भएको बताए ।  प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले कानुन निर्माणमा त्रुटि भएको बताए ।

इटहरीका सबै शिक्षण संस्थामा विप्लव नेतृत्वको नेकपाले चन्दा मागेको समाचार आजको कोशीपत्र दैनिकमा छ । उच्च माध्यमिक विद्यालय संघ(हिसान)का सुनसरी अध्यक्ष मुकुन्द घिमिरेले इटहरीसँगै धरानका कलेजहरुमा पनि चन्दा मागिएको बताए । सुनसरीको इटहरी तथा धरानका दुई शिक्षण संस्था बिहीबार राती बम विस्फोट भएपछि चन्दा माग गरेको विषय सार्वजनिक भएको हो ।

गत भदौ १५ गते इटहरीबाट पक्राउ परेका विप्लव कार्यकर्ता मोहन कार्कीले नै इटहरीका विभिन्न कलेज तथा विद्यालयमा चन्दा माग गरेको दाबी गरिएको छ । प्रहरीले इटहरीको सुष्मा गोदावरी कलेज र धरानको दिल्ली पब्लिक स्कुलमा बम राख्नेको पहिचान भएको र खोजी भइरहेको जनाएको छ ।

Loading...