fbpx

पत्रपत्रिकामा देशः बाजुरामा १ रुपैयाँमा तीन दाना स्याउ

विराटनगर २२ भदौ । आजको अन्नपूर्ण पोष्टमा मुख्य समाचार बाजुरामा स्याउ रुपैयाँमा तीन दाना शिर्षकमा छापिएको छ । बाजुराको स्वामीकार्तिक खापर गाँउपालिकाका ३ जुकोटका महेन्द्रबहादुर शाहीको बारीमा १२ सय बोट स्याउ छन् । तर बजार नपाउँदा १ रुपैयाँमा तीन दाना स्याउ दिदा पनि विक्रि भइसक्दैन् । बारीमा पुगेर किलोको हिसाबले कसैले नकिन्ने उनको भनाई छ ।

तर गाँउपालिकाले भने स्याउको मुल्य किलोको १५ रुपैयाँ निर्धारण गरेको छ । बाजुरामा १० लाख किलो स्याउ फलेपनि बिक्रि नहुँदा गाईबस्तुलाई कुडो खुवाउने गरेका छन् । कोल्डस्टोर र स्याउका अन्य उत्पादन बनाउने तालिम पाए स्याउबाट फाइदा लिन सक्ने किसानहरुको भनाई छ । स्वामीकार्तिक खापर, धिम, पाडी, जगन्नाथ लगायतका गाँउपालिकामा प्रसस्त स्याउ उत्पादन भएपनि मुल्य नपाएर किसानहरु मर्कामा छन् ।

चिनियाँ विदेशमन्त्री वाङ यी दुई दिन नेपाल भ्रमणकोलागि आज काठमाडौं आइपुग्ने समाचार आजका काठमाडौंबाट प्रकाशित प्राय पत्रिकामा छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञावली र वाङबीच सोमबार द्विपक्षीय समझदारी र सहकार्यका विषयमा वार्ता हुने अधिकारीहरुले बताए । छलफलमा चीनले दिएको सहयोगको विषयमा समेत समीक्षा हुने छ । तातोपानी केरुङ नाकाको अध्यागमन सहजता, भौतिक संरचना, टिमुरेमा ड्राइपोर्ट बनाउने लगायतका विषयमा छलफल हुने छ ।

कान्तिपुर दैनिकमा ७० हजारलाई डेंगु, बैसाखयता अस्पताल पुगेकै विरामीको संख्या ७ हजार शिर्षकमा मुख्य समाचार छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसीडी)ले सरकारी अस्पलतामा मात्रै बैसाखयता ७ हजार बढी जँचाउन पुगेको जनाएको छ । अस्पताल आइनपुगेका बिरामीको संख्या जोड्दा ७० हजार हुने चिकित्सकहरुको आँकलन छ । सरकारी तथ्यांक अनुसार ४८ जिल्लामा डेंगुको संक्रमण फैलिएको छ । यो रोग लागेर ४ जनाको मृत्यु भएको छ ।

थप दुईजनाको मृत्यु डेंगुको कारण हो वा होइन् भन्ने पुष्टि हुन बाँकी छ । ईडीसीडीका किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. प्रकाश शाहले ९० प्रतिशत डेंगु रोगीलाई सामान्य ज्वरोमात्र आउने र १० प्र्रतिशतलाई मात्रै लक्षण देखिने बताए । ईडीसीडीले रोग परिक्षणकोलागि र्यापिड डाइग्नोष्टिक किट (आरडीटी)को सट्टा रगतमा व्हाइट ब्लड सेल र प्लेटलेटको गणना तथा हेमाटोक्रिट परीक्षण गरी रोग निदान र व्यवस्थापन गर्न अनुरोध गरेको छ । विभिन्न जिल्लाबाट किटको अत्यधिक माग भएको अबस्थामा स्वास्थ्य सेवा विभागले किटको सट्टा रगत जाँच गरि उपचार गर्न भनेको हो ।

नागरिक दैनिकमा भारतले प्रक्षेपण गरेको चन्द्रयान २ अवतरण असफल भएको खबर छापेको छ । मुख्यपृष्ठमा छापिएको खबरमा भारतले पठाएको चन्द्रयान २ असफल भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वैज्ञानिकहरुलाई सान्त्वना दिएको उल्लेख छ । चन्द्रयान २ चन्द्रमाको सतहभन्दा २.१ किलोमिटर टाढा पुगेपछि भारतीय अन्तरिक्ष अनुसन्धान केन्द्रसँग सम्पर्क विच्छेद भएको हो ।

Loading...